के हो माइग्रेन ? कस्तो छ त घरेलु उपचार ?

निरेम अपडेट
४ पुष २०८० १५:१५

४ पुस, काठमाडौं । माइग्रेन अत्यधिक टाउको दुख्ने समस्या हो । यो टाउको दुखाइको एउटा प्रकार मात्रै हो । सबै टाउको दुखाइमा माइग्रेन नहुन सक्छ । टाउको दुखाइको अन्य कारण भेटिएन भने त्यो माइग्रेन हो । यसमा सबै परीक्षणका रिपोर्ट सामान्य नै आउँछन् । सिटीस्क्यान होस् या रगत परीक्षण; रिपोर्ट सामान्य नै आउँछ । अन्य रेडियोलोजिकल जाँचको रिपोर्टले सामान्य अवस्था देखाए पनि बिरामीको टाउको दुखाइ कम हुँदैन । कतिपय अवस्थामा घरपरिवारका सदस्यसमेत उल्टै बिरामीलाई शंका गरिरहेका हुन्छन् । भनिरहेका हुन्छन्, ‘सबैतिर लगियो । केही रोग देखिँदैन । कतै नाटक त होइन !’ यसले बिरामीलाई पीडामाथि थप पीडा दिन्छ  ।

पुरुषभन्दा महिलामा बढी
माइग्रेनको समस्या पुरुषको तुलनामा महिलालाई बढी हुन्छ । विभिन्न शोध–अनुसन्धानअनुसार करिब ३ महिलालाई माइग्रेन हुँदा एक पुरुषमा मात्र यो रोग देखा पर्छ । किनभने महिलामा हर्मोनल परिवर्तन ज्यादा हुन्छ । महिनावारीको अघिपछि टाउको दुख्ने समस्या आइलाग्छ । पिल्सलगायत अस्थायी परिवार नियोजनका औषधि सेवन गर्ने वा रसायनयुक्त साधन प्रयोग गर्नेहरूलाई माइग्रेनको सम्भावना बढी हुन्छ ।

भोको पेट बसिरहने, व्रत बस्ने र धेरै समय अनिदो रहने मानिसलाई पनि माइग्रेनको जोखिम हुन्छ । त्यसैले हामीले भनिरहेका हुन्छौं कि माइग्रेनका बिरामीले दैनिक ६ देखि ८ घन्टा सुतेको हुनुपर्छ । राति काम गर्ने मानिसहरू पनि माइग्रेनका सिकार हुने सम्भावना उच्च रहन्छ । बढी तनावपूर्ण जीवनयापन गर्ने, धेरै सोच्नुपर्ने, मानसिक काम बढी गर्नुपर्नेलाई माइग्रेन बढी भएको पाइन्छ ।

माइग्रेनका लक्षण
माइग्रेनको टाउको दुखाइ नियमित रूपमा हुँदैन । केही दिन बिराएर टाउको दुख्न थाल्छ । यसलाई अर्को भाषामा ‘इपिसोडिक हेड्याक’ भनिन्छ । कसैलाई हप्तामा एकपटक दुख्न सक्छ, कसैलाई दुईपटक । कसैलाई दुई महिना र कसैलाई वर्षको अन्तरमा । जतिबेला टाउको दुख्छ, त्यतिबेला असह्य पीडा हुन्छ । कतिपय ठाउँमा आधा टाउको दुख्ने रोग भनेर पनि चिनिन्छ । कसैलाई पछाडि त कसैलाई अगाडिको भागमा दुख्ने हुन्छ । केहीलाई भने पूरै टाउको दुख्ने समस्या देखा पर्न सक्छ ।

कडा टाउको दुख्दा बिरामीलाई वाकवाकी लाग्ने, कसैलाई वान्तासमेत हुने र कसैलाई वान्ता भएपछि आराम भएजस्तो हुने लक्षण देखिन्छ । चम्किलो प्रकाश र उज्यालो हेर्न मन नहुने, भिडभाड मन नपराउने र वरपरका मानिससँग झर्को लाग्ने लक्षण देखा पर्न सक्छ । बिरामीलाई आवाजको एलर्जी हुन्छ, जसलाई ‘फोनोफोबिया’ भनिन्छ ।
माइग्रेन दुई प्रकारको हुन्छ—  विथ औरा र विद्आउट औरा ।

२०/३० प्रतिशतलाई माइग्रेनको पूर्वसंकेत मिल्छ, त्यो बेला यसको संकेत शरीरले पाउँछ । दृष्टि प्रस्ट नहुने, आँखालाई असहज हुने लक्षण देखियो भने यसलाई औरा भनिन्छ । कतिपयलाई कुनै पूवैसंकेत बिना पनि माइग्रेन हुन्छ ।

कतिपय बिरामीलाई कुनै गन्धका कारणले टाउको दुख्न थाल्छ । सडाइएको वा अमिल्याएको परिकार खाँदा बिरामीको टाउको दुख्न थाल्छ । उज्याले हेर्न मन नलाग्ने भएकाले कतिपय बिरामी बत्ती निभाएर एकान्तमा वा अँध्यारोमा बस्न रुचाउँछन् । बिरामीलाई टाउको दुख्दा २ घन्टादेखि ७२ घन्टासम्म त्यसको असर रहन्छ । यो माइग्रेनको खास लक्षण हो । कतिपय अवस्थामा दुखाइ कम गर्ने औषधिले समेत काम गर्दैन ।

यस्तो छ घरेलु उपचार 
माइग्रेनको प्राकृतिक उपचार तपाईंले घरमा पनि गर्न सक्नुहुन्छ । तर उपचारको विधिको बारेमा जानकार हुनुपर्छ । मठप्याक मानसिक समस्या र माइग्रेन भएको व्यक्तिहरुका लागि राम्रो हुन्छ ।
नाक सुख्खा हुने खालको पिनास छ भने मठप्याकले अर्थात माटोको पट्टी राम्रो हुन्छ ।

टाउको दुखेको छ भने पहिला टाउकोमा चिसो पट्टी बाध्ने, त्यसपछि टाउँकोको पार्ट पार्टमा थिच्नुपर्छ । अर्काे कुरा हातको आैंलाका टुप्पा टुप्पामा थिच्ने गर्नुपर्छ, औँलाको टुप्पामा घुमाई–घुमाई थिच्ने, यो क्रम हात र खुट्टाको प्रत्येक औँलामा एकदेखि २ मिनेटसम्म गर्नुपर्छ । यस्तै; हत्केलाको बीच भागमा पनि प्रेसर दिने र बुढी औँला, चोर औँलाको कापमा प्रेसर दिने यस्तोगर्दा टाउको दुखाइ तत्कालै कम हुन्छ ।

यदि घाममा बसेर टाउको दुखेको छ भने चिसोपानीको धारा टाउकोमा चुहाउने अनि थिचिराख्ने । घाममै बसेर दुखेको छ भने चिसो रुमाल आँखामा पट्टी लगाएर बस्ने । यस्ता सामान्य प्रक्रिया गर्दा पनि राम्रो हुन्छ । यस्तै टाउकोमा चिसो रुमाल बेर्ने र पैताला तातोपानीमा १० देखि १५ मिनेटसम्म डुबाउँदा पनि राम्रो हुन्छ ।