सरकारले परिणाम दिन सकेन, जस-अपजस प्रधानमन्त्रीको हो : मीन विश्वकर्मा

निरेम अपडेट
१५ पुष २०८० १६:५४

१५ पुस, काठमाडौं । नेपाली कांग्रेसले वर्तमान सरकारबाट अपेक्षित परिणाम आउन नसकेको निष्कर्ष निकालेको छ ।

शनिबार सकिएको पार्टीको केन्द्रीय समितिको निर्णय सुनाउँदै प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सरकारले अपेक्षित परिणाम दिन नसकेको बताएका हुन् ।

नेता विश्वकर्माले सरकार सफल हुँदा वा नहुँदाको जस अपजस प्रधानमन्त्रीको हुने बताए । यदि कुनै मन्त्रीका कारण समस्या परिणाम दिन नसकेको भए प्रधानमन्त्रीले सत्ता साझेदार दलसँग छलफल गर्न सक्ने विश्वकर्माले बताए । ‘कांग्रेसका मन्त्रीका बारेमा त्यस्तो प्रस्ताव पनि आएको छैन । प्रस्ताव नै नआएपछि छलफल पनि गर्नुपरेन’, उनले भने ।

विगतको तुलनामा यस आर्थिक वर्षमा वस्तुको आयात कम भएकाले वैदेशिक व्यापार घाटामा न्यूनीकरण भए पनि निर्यातमा उल्लेख्य मात्रामा वृद्धि हुन नसकेकाले व्यापारिक क्षेत्र सन्तोषनक नभएको उनले बताए ।

‘विगतमा संकटग्रस्त देखिएको मुलुकको आर्थिक क्षेत्रमा विस्तारै सुधारका संकेतहरू देखिन थालेको, बैंकिङ प्रणालीमा तरलताको मात्रा बढे संगै कर्जाको व्याजदर क्रमशः घट्दै गएको, कर्जा प्रवाहमा वृद्धिसँगै घरजग्गाको कारोबारमा पनि वृद्धि भएकोले आर्थिक क्षेत्रमा सकारात्मक संकेतहरू देखिन थालेको छ’, कांग्रेस बैठकको निर्णयमा भनिएको छ ।