अमेरिकामा हिम आँधी : मर्नेको सङ्ख्या ८९ पुग्यो

निरेम अपडेट
८ माघ २०८० १२:०४

वासिङ्टन डीसी । अमेरिकामा हिमआँधीका कारण ८९ जनाको मृत्यु भएको छ । हिम आँधी र हिउँसँग सम्बन्धित दुर्घटनाहरूमा देशभरमा विगत एक हप्तामा ठुलो जनधनको क्षति भएको छ । अमेरिकाको टेनेसी राज्यमा मात्रै २५ जनाको मृत्यु भएको छ । ओरेगनमा मर्नेको सङ्ख्या १६ पुगेको छ । ती दुवै राज्यमा आपतकाल लगाइएको छ ।

देशभरमा कयौँ स्थानमा दसौँ हजार मानिसहरू माझ बिजुलीको आपूर्ति ठप्प छ । हिउँका कारण खाने पानीका पाइप फुट्दा कयौँ स्थानमा पानीको आपूर्तिमा पनि अवरोध उत्पन्न भएको खबरहरू आइरहेका छन् । यो हप्ताको मध्यसम्म पनि स्थितिमा सुधार नआउने बताइएको छ । पछिल्लो एक हप्तामा विषम मौसमका कारण ८९ जनाको मृत्यु भएको सीबीएसको तथ्याङ्कले देखाएको छ ।

टेनेसी र ओरेगनमा ठुलो सङ्ख्यामा मृत्यु भएको भएपनि इलिनोइस, पेन्सिल्भेनिया, मीसीसीपी, वासिङ्टन, केन्टुकी, विस्कन्सिन, न्यूयोर्क, न्यूजर्जी र अन्यत्र पनि मृत्युका घटनाहरू भएका छन् । गएको बुधवार पोर्टल्यान्डमा शक्तिशाली आँधीका कारण बिजुलीको तार खसेर कारमा झर्दा करेन्ट लागेर एकै स्थानमा ३ जनाको ज्यान गएको थियो ।सो घटनमा कारभित्र रहेका बालक भने जिउँदै भेटिएको बताइएको छ । मृत्युका अन्य मामिलाहरूमा अनुसन्धान भइरहेको सञ्चारमाध्यामहरुले बताएका छन् ।