साउदीमा ७० वर्षपछि रक्सी पसल खुल्दै

नाम दर्ता गराएर सरकारबाट अनुमति लिनुपर्ने

निरेम अपडेट
१३ माघ २०८० १६:४१

काठमाडौं – साउदी अरेबियाको राजधानी रियादमा रक्सी किन्न पाइने पसल खुल्ने भएको छ। साउदीले गैरमुस्लिम कूटनीतिज्ञहरूका निम्ति मदिरा बिक्री गर्ने अनुमति दिन लागेको हो।

सन् १९५२ मा रक्सीले मातेका एक राजकुमारले एक विदेशी कूटनीतिज्ञलाई गोली हानेर मारेपछि त्यहाँ रक्सी किनबेचमा प्रतिबन्ध लगाइएको थियो। राजा अब्दुल अजीजका एक छोराले ब्रिटिश कूटनीतिज्ञलाई मारेपछि मदिरा प्रतिबन्धसम्बन्धी कानुन बनाइएको थियो।

रियादमा ७० वर्षपछि पहिलो पटक खुल्ने मदिरा पसलले चुनिएका गैरमुस्लिम विदेशीहरूलाई रक्सी बेच्नेछ। सेवाग्राहीको वर्गमा सीमित कूटनीतिक कर्मचारीहरू मात्र पर्ने छन्।

कूटनीतिज्ञहरूले वर्षौँदेखि उनीहरूले आयात गर्ने कूटनीतिक पार्सलमा मदिरा ल्याउने गरेका थिए। तीमध्ये केही परिमाणको मदिरा कालोबजारी हुने गरेको सरकारी अधिकारीहरूले बताउने गरेका थिए। मदिरा पसल खोल्ने कार्यले त्यस्तो अवैध काम बन्द हुने उनीहरूको विश्वास छ।

नयाँ नियमअन्तर्गत कूटनीतिज्ञहरूले आयात गर्ने मदिरामा कडाइ गरिनेछ। बरु उनीहरूले रियादस्थित ’डिप्लोम्याटिक क्वार्टर’मा खुल्ने पसलबाट निश्चित कोटामा रक्सी किन्न सक्ने समाचा रसंस्था एएफपी र रोयटर्सले प्रकाशित गरेका छन्।

रक्सी बेचबिखन गर्ने ठाउँ राजधानीको केन्द्रबाट पश्चिमतर्फ छ। रोयटर्सका अनुसार पसल केही हप्ताभित्रै खुल्ने छ।

तोकिएको पसलमा गएर मदिर किन्न केही सर्त पनि राखिएको छ। इच्छुक कूटनीतिज्ञले पहिलै नाम दर्ता गराएर सरकारबाट अनुमति लिनुपर्ने छ।

२१ वर्षमुनिका कसैलाई पनि पसलभित्र प्रवेश अनुमति हुने छैन। पसलभित्र रहँदा ‘उचित पोसाक’ लगाइरहनुपर्ने छ।

मदिरा सेवनकर्ताले आफ्ना चालक वा अन्य व्यक्तिलाई मदिरा किन्न पठाउन पाउने छैनन्। मासिक सीमा निर्धारण र लागु गरिने छ।
कूटनीतिज्ञबाहेक अन्य विदेशीहरूका निम्ति मदिरा किन्ने सुविधा उपलब्ध हुने छैन।

साउदीमा तोकिएका मानिसलाई मदिरा उपलब्ध भए पनि त्यसको प्रयोग र प्रयोगपछिका व्यवहारबारे भने सचेत हुनुपर्ने देखिन्छ।
साउदी कानुनअनुसार मदिरा साथमा राखेको वा उपयोग गरेको अपराधमा जरिवाना, जेल सजाय, सार्वजनिक रूपमा कोर्रा प्रहार वा देशनिकालासम्म हुन सक्छ।

मदिरा खुकुलो पार्ने पछिल्ला प्रयासलाई साउदीका युवराज तथा वास्तविक शासक मोहम्मद बिन सलमानले अघि सारेका उदारीकरणसम्बन्धी भिजन २०३० अभियानकै एक पाटोका रूपमा हेरिएको छ।

खाडीका अन्य देशहरूमा पनि मदिरासम्बन्धी यस्तै नियम छ। तर यूएई र कतारमा होटल, क्लब तथा बारहरूमा पनि २१ वर्ष माथिका गैरमुस्लिमहरूलाई मदिरा बेच्न पाइन्छ।

इस्लाममा मदिरा प्रतिबन्धित भए पनि सन् १९५२ सम्म साउदी अरबमा मदिराबारे कडा नियम थिएन।