भिजिट भिसाबाट रोजगारीमा पठाउने गिरोहको मुद्दामा प्रहरीले बुझायो प्रतिवेदन

अध्यागमनका ८ अधिकृतविरूद्ध पक्राउ पुर्जी

निरेम अपडेट
१४ माघ २०८० १७:४४

काठमाडौं – सेटिङ गरी भिजिट भिसामा विदेश पठाउने गिरोहबारे अनुसन्धान सकेर प्रहरीले सरकारी वकिल कार्यालय काठमाडौंलाई प्रतिवेदन बुझाएको छ।

नेपालीलाई भिजिट भिसामा वैदेशिक रोजगारीका लागि पठाएको भन्दै प्रहरीले अध्यागमन कार्यालयदेखि नेपाल वायु सेवा निगम र प्रहरीलाई पनि पक्राउ गरेको थियो।

अनुसन्धानपछि आइतबार जिल्ला प्रहरी परिसर काठमाडौंले सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको हो। केही दिन अध्ययन गरेपछि सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्नेछ।

अहिले प्रहरीले १० जनालाई पक्राउ गरी अनुसन्धान प्रतिवेदन बुझाएको हो। प्रतिवेदनमा प्रहरीले अध्यागमनका अधिकृतसहित ११ जनालाई सूचीमा राखेको छ। जसमा ८ जना अध्यागमन अधिकृत छन्।

गएको असोजमा विदेश जान खोजेका धेरै जनाका कागजातहरू नक्कली रहेको खुलेको थियो। नक्कली कागजातहरू बरामद गरी अनुसन्धानका लागि विमानस्थल प्रहरीमार्फत काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्राचार भएको थियो।

परिसरको हिरासतमा ट्राभल एजेन्सीका सञ्चालक, नेपाल वायु सेवा निगमका कर्मचारी र अध्यागमन अधिकृत छन्। अनुसन्धानका क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गत मंसिरमा अध्यागमन अधिकृत नरवीर खड्कालाई पक्राउ गरेको थियो।

उनीसँगै प्रहरीले वायुसेवा निगमका कर्मचारी अरविन यादव र होम पोखरेल पनि पक्राउ गरेको थियो।

अध्यागमन अधिकृत खड्कामाथि सोधपुछ गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अन्य अधिकृतको समेत मिलेमतो रहेको खुलेको थियो।

अधिकृतहरू कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पिताम्बर रिमाल र सुजन फागोविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।

अहिले पक्राउ पुर्जी जारी भएकामध्ये तीन जना एजेन्ट छन्। उनीहरू फरार छन्। विमानस्थलमा कार्यरत अधिकृतहरूले भिजिट भिसामा विदेश पठाउनको लागि प्रति व्यक्ति ४४ देखि ५५ हजार रुपैयाँसम्म लिने गरेको अनुसन्धानबाट खुलेको थियो।

कागजपत्रदेखि होटल मिलाएबापत् ट्राभल कम्पनी र कन्सल्टेन्सीले एक जनाबाट १० देखि १५ हजार, निगमका कर्मचारी र विमानस्थलमा खटिने प्रहरीले प्रतिव्यक्ति १० हजार लिने गरेको थिए।

यसमा संलग्न रहेका एक प्रहरीलाई यसअघि नै पक्राउ गरिएको थियो।

गएको असोजमा विदेश जान खोजेका धेरै जनाका कागजातहरू नक्कली रहेको खुलेको थियो। नक्कली कागजातहरू बरामद गरी अनुसन्धानका लागि विमानस्थल प्रहरीमार्फत काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्राचार भएको थियो।

सुरूमा असोज १७ गते १५१३ वटा कागजातहरू बरामद भई कार्यालयमा पठाएको थियो। त्यसपछि पनि पटकपटक नक्कली कागजातहरू बरामद हुन थालेपछि अनुसन्धान अघि बढाएको थियो।