नेपाल पत्रकार महासंघ कतार शाखाको नेतृत्वमा श्रेष्ठ सर्वसम्मत

निरेम अपडेट
२० माघ २०८० १३:०६

कतार : नेपाल पत्रकार महासंघ कतार शाखाको आठौँ अधिवेशन सम्पन्न भएको छ । नेपाली राजदूतावासको सभा हलमा शुक्रवार सम्पन्न अधिवेशनबाट आगामी ३ वर्षका लागि दिल कुमार श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमत चयन भएको छ ।

कार्यसमितिको उपाध्यक्षमा अर्जुन पौडेल, सचिव दिलीप पराजुली, सहसचिव शारदा भुजेल, कोषाध्यक्ष कुमार अविरल रहेका छन् । त्यस्तै कार्यसमिति सदस्यहरूमा उद्भव बहादुर मगर, टेकराज थापा, सन्तोष केसी र सावित्रा शर्मा रहेका छन् ।

No description available.

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्यता रहेको अधिवेशन महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियाँको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरेलले विदेशमा बसेर नेपाली पत्रकारितामा गरेको योगदानको प्रशंसा गरेका थिए । उनले पत्रकारिताका न्यूनतम दायरा पुरा गरेर लेखन कार्यलाई गति दिनु पर्ने आवश्यकता औल्याउँदै कतारले विकासमा मारेको फड्कोको बारेमा पनी लेख्न आग्रह गरे ।

अधिवेशनमा महासंघका केन्द्रीय सदस्यद्वय प्रदीप काफ्ले र ज्ञान प्रसाद पौडेल, नेपाली दूतावास कतारका नियोग उपप्रमुख कुमार राई, एनआरएनए आइसीसी, एनसीसी कतार, वैचारिक संगठनका विभिन्न ओहोदाका व्यक्तित्वहरूको विशेष आतिथ्यतासहित शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम संयोजक तथा संस्थाका उपाध्यक्ष दिल श्रेष्ठले स्वागत मन्तव्य राखेको अधिवेशनलाई सचिव अर्जुन पौडेलले सहजिकरण गरेका थिए ।

अधिवेशनको समापन गर्दै अध्यक्ष मियाँले मानिसको जीवन नत्थिङबाट शुरु भएर समथिङ हुँदै पुनः नत्थिङ हुने कुरा बुझ्न अति आवश्यक रहेको बताए । मियाँले कतारमा रहेका पत्रकारको संरक्षण गर्ने काम महासंघले गर्ने र त्यसको नेतृत्व आफूले ६ वर्षसम्म गर्दा धेरै उतारचढाव भोग्नु परे पनि पत्रकारका हकहितमा कार्यसम्पादन गर्ने भरपुर कोसिस गरेको बताए । दूतावासले हल उपलब्ध गराएर अधिवेशन गर्न सहज भएको बताउँदै धन्यवाद ज्ञापन गरे ।