पोर्चुगल पठाइदिन्छु भन्दै १८ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ

निरेम अपडेट
२८ माघ २०८० १८:२३

काठमाडौँ । पोर्चुगल पठाइदिन्छु भन्दै १८ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका १२ हाल काठमाडौँ महानगरपालिका २६ सामाखुसी बस्ने मञ्जु रावत रहेकी छन् ।

रावतले राजीव बस्नेतसहित ३ जनाबाट पोर्चुगल पठाइदिन्छु भन्दै रु १८ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जानकारी दिएको छ ।

उनले बस्नेतसहित ३ जनालाई पोर्चुगल पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने र मासिक १ लाख ५० हजारसम्म तलब हुन्छ भनी विश्वास दिलाएर प्रलोभनमा पारेको प्रहरीको भनाई छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोली बिहीबार नयाँ वानेश्वरबाट पक्राउ गरिएकी रावतलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार कार्यालय ताहाचाल पठाइएको प्रहरीले जनाएको छ ।