यूएई जव फेयरका लागि सल्लाहकार, मूल समिति र ५ उपसमिति गठन, जव फेयरलाई बृहत् बनाउने संघको तयारी

निरेम अपडेट
६ फागुन २०८० १२:३९

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आगामी मार्च महिनाको पहिलो हप्ता यूएईमा हुने रोजगार मेला ‘जव फेयर’लाई बृहत्तररुपमा सफल बनाउन सल्लाहकार समिति, मूल समिति र ५ वटा उपसमिति गठन गरेको छ । संघका अध्यक्ष राजेन्द्र भण्डारीको अध्यक्षतामा  फागुन २ गते बसेको संघ कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।

यसअघि फागुन ३ गते यूएईमा सम्पन्न गर्ने गरी निर्णय गरिएको जव फेयर आवश्यक तयारी नपुगेको भन्दै करिब तीन हप्ताको समय लम्ब्याएर फागुन १९ गते अर्थात मार्च २ तारिकमा गर्ने गरी नयाँ निर्णय गरिएको हो ।

संघका महासचिव तथा प्रवक्ता मेघनाथ भुर्तेलका अनुसार जव फेयरका लागि पूर्वअध्यक्षहरु, संघका वर्तमान अध्यक्ष र सम्पूर्ण शुभेच्छुक संघ संस्थाका अध्यक्ष रहेको सल्लाहकार समिति गठन गरिएको छ । संघले प्रथम उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय कोअर्डिनेटर डिक बहादुर खत्रीको संयोजत्वमा मूल समिति गठन गरेको छ । मूल समितिमा द्वितीय उपाध्यक्ष सञ्जु गुरुङ, तृतीय उपाध्यक्ष रोशन कटुवाल, सचिव कर्णराज कटुवाल सदस्य रहेको मूल समिति गठन गरेको छ । महासचिव मेघनाथ भुर्तेल मूल समितिको सदस्य सचिव रहेका छन् ।

त्यसैगरी कोषाध्यक्ष सरिता घले संयोजक रहेको आर्थिक उपसमिति गठन गरिएको छ । आर्थिक उपसमितिमा कार्यसमिति सदस्यद्वय सोम बहादुर तामाङ र कैलाश पठाक सदस्य रहेका छन् । संघको कार्यसमिति सदस्य बैकुण्ठ प्रसाद पौडेल संयोजक रहेको प्रचारप्रसार उपसमिति गठन गरिएको छ । उक्त उपसमितिमा कार्यसमिति सदस्द्वय विक्रम श्रेष्ठ र तोरण कुमार कार्की सदस्य रहेका छन् ।

संघले कार्यसमिति सदस्य देवेन्द्र नारायण श्रेष्ठको संयोजकत्वमा प्रेस छपाइ उपसमिति गठन गरेको छ । उक्त उपसमितिमा कार्यसमिति सदस्यद्वय अनिल कुमार राई र देउमान नेङमाङ सदस्य रहेका छन् । त्यस्तै कार्यसमिति सदस्य नारायण भुषाल संयोजक रहेको भ्रमण व्यवस्थापन उपसमिति गठन गरिएको छ । उक्त उपसमितिमा कार्यसमिति सदस्यद्वय आनन्द कोइराला र देवीमाया थापा सदस्य रहेका छन् । जव फेयरको आन्तरिक व्यवस्थापन उपसमिति संयोजकमा कार्यसमिति सदस्य राजेन्द्र बस्नेत रहेका छन् । उक्त उपसमितिमा कार्यसमिति सदस्यद्वय चन्द्र बहादुर लिम्बू र सुर्य कुमार श्रेष्ठ सदस्य रहेका छन् ।

यूएईमा रोजगार मेलाको समय आउन दुई हप्ता र केही दिनमात्रै बाँकी रहेकाले सबै संयोजक र सदस्यहरुलाई आफ्नोतर्फको जिम्मेवारीको कामलाई प्राथमिकतामा राखेर अघि बढाउन बैठकले निर्देशन दिएको पनि महासचिव भुर्तेलले बताए ।

यूएईको होटल मरिनामा हुने तय भएको जव फेयरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्ड सचिवालय र यूएईस्थित नेपाली दूतावासको सहकार्य रहने संघले बताएको छ । जव फेयरमा यूएईस्थित रोजगारदाताहरु, सबै स्टेटका चेम्बरहरु, इन्डियन इन्भेष्टमेन्ट ग्रुप, सबै बिजनेस कम्युनिटी, एचआर एशोसिएसन र आधिकारिक नेपाली चेम्बरहरुलाई सहभागी गराइने तयारी रहेको पनि महासचिव भुर्तेलले जानकारी दिए ।

यूएईमा नेपाली कामदारका लागि धेरै क्षेत्रमा रोनगारीको सम्भावना भएपनि बिचौलियाहरुका कारणले समस्या रहेकोले  रोजगारदाताहरुसँग नेपाली म्यानपावर व्यवसायीहरुको प्रत्यक्ष सम्बन्ध स्थापित गर्न जव फेयर आयोजना गरिएको संघका प्रथम उपाध्यक्ष, अन्तर्राष्ट्रिय कोअर्डिनेटर तथा रोजगार मेला संयोजक खत्रीले बताए । उनले आगामी एक दशकका लागि प्रभाव छोड्ने गरी व्यापक सहभागितामा जव फेयर हुने उल्लेख गरे ।

नेपालले १७ वर्षअघि २००७ को जुन ६ तारिकमा दुबईको ग्रान्ड हयात होटलमा जव फेयर गरेपनि त्यसलाई निरन्तरता दिन सकेको छैन । त्यतिबेला २६ कम्पनीले स्टल राखेर आ–आफ्ना सूचनाहरु प्रवाह गरेका थिए भने वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङले नेपालमा उपलब्ध अदक्ष, अर्धदक्ष तथा दक्ष कामदारहरुको बारेमा विस्तृत जानकारी गराएपछि नेपालमा कामदारहरु अदक्ष मात्र उपलब्ध छन् भन्ने यूएईका रोजगारदाताहरुको सोचाइ नै परिवर्तन भएको थियो ।

पछिल्ला महिनाहरुमा यूएई धेरै नेपाली कामदार जाने श्रम गन्तव्य मुलुकको शीर्ष स्थानमा रहेको छ । माघ महिनामा म्यानपावर कम्पनीमार्फत १० हजार ८ सय ६१ जना कामदार गएका थिए भने रिइन्ट्री र अन्य माध्यमबाट गरी १७ हजार बढी नेपाली उक्त मुलुकमा रोजगारीका लागि गएका छन् । यूएई र नेपाल सरकारबीच यसअघि भएको सम्झौताअनुसार नेपाली कामदारको खर्च रोजगारदाताले नै व्यहोर्नुपर्ने व्यवस्था छ । सम्झौतामा कामदारले कुनै पनि शुल्क भुक्तानी गर्नु नपर्ने भएपनि रोजगारदाताको कमीकमजोरीका कारण कतिपय अवस्थामा शुल्क तिरेर जाने गरेका छन् ।