विश्वका धनीको टप टेन सूचीमा ७ जना प्रविधि क्षेत्रका, इलन मस्कको सम्पत्ति घटेर दोस्रो स्थानमा

निरेम अपडेट
२१ चैत २०८० १७:०३

काठमाडौं /अमेरिकाको प्रसिद्ध पत्रिका फोर्ब्सले विश्वका अर्बपतिहरूको नयाँ सूची सार्वजनिक गरेको छ। जसले लामो समय सूचीमा अग्रस्थानमा रहेका विश्वका धनी मध्येका एक इलन मस्क अब एक नम्बरबाट दोस्रो नम्बरमा झरेका छन्।

फोर्ब्सकाअनुसार विश्वका डलर अर्बपतिहरुको कूल सम्पत्ति १४.२ ट्रिलियन डलर पुगेको छ। यो सन् २०२३ को भन्दा २ ट्रिलियन धेरै हो । जसमा विश्वमा अर्बपतिको संख्या २ हजार ७८१ छ। जुन गत वर्षको भन्दा १४१ जना बढी हो।

सूचीमा प्रमुख १० जनामध्ये ७ जना प्रविधि उद्योग वा व्यवसायसँग सम्बन्धित रहेका छन्।

सूचीमा सबैभन्दा अगाडि बर्ना आर्नोस रहेका छन भने दोस्रो नम्बरमा इलन मस्क रहेका छन्। लुई भिटन तथा सेफोरा लगायतका फेसन तथा कस्मेटिक ब्राण्डका मालिक बर्ना आर्नोको सम्पत्ति २ खर्ब ३३ अर्ब डलर छ।

यसका साथै एक्स, स्पेसएक्स तथा टेस्लाका मालिक मस्कको कूल सम्पत्ति १ खर्ब ९५ अर्ब रहेको छ।

यसका साथै तेस्रो स्थानमा रहेका अमेजनका संस्थापक जेफ बेजोसको सम्पत्ति १ खर्ब ९४ अर्ब डलर छ भने फेसबुकका संस्थापक मार्क जुकरबर्गको सम्पत्ति १ खर्ब ७७ अर्ब डलर छ।

यसका साथै ओर्याकलका संस्थापक ल्यारी इलिसनको कूल सम्पत्ति १ खर्ब ४१ अर्ब छ भने माइक्रोसफ्टका संस्थापक बिल गेट्सको कूल सम्पत्ति १ खर्ब २८ अर्ब डलर छ।

यसैगरी माइक्रोसफ्टका पूर्व सिइओ बाल्मरको कूल सम्पत्ति १ खर्ब २१ अर्ब डलर छ भने भारतीय टाइकुन तथा रिलायन्स कम्पनीका मालिक मुकेश अम्बानीको सम्पत्ति १ खर्ब १६ अर्ब डलर छ ।

यसैगरी १० औं नम्बरमा रहेका गुगलका संस्थापक ल्यारी पेजको कूल सम्पत्ति १ खर्ब १४ अर्ब डलर रहेको छ भने गुगलका सह संस्थापक रहेका सर्गेई ब्रिनको कूल सम्पत्ति १ खर्ब १० अर्ब डलर छ।