टी-२० विश्वकप खेल्ने नेपाली टोली घोषणा, को को समेटिए ?

निरेम अपडेट
१९ वैशाख २०८१ १९:१३

काठमाडौं– नेपालले रोहित पौडेलको कप्तानीमा टी-२० विश्वकप खेल्ने टोली घोषणा गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि १५ सदस्यीय टोली घोषणा गरेको हो ।

टी-२० विश्वकप खेल्ने टोलीमा रोहितकुमार पौडेल (कप्तान) आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, सागर ढकाल र कमलसिंह ऐरी छन् ।

टी-२० विश्वकपमा नेपाल समूह ‘डी’ मा छ ।

यस समूहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्डस रहेका छन् ।

विश्वकपमा नेपालले पहिलो खेल टेक्सासमा जुन ४ मा नेदरल्यान्डससँग, जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग, जुन १४ मा सेन्ट भिनसेन्टमा दक्षिण अफ्रिकासँग र जुन १६ मा सेन्ट भिनसेन्टमै बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।