फेसबुकमार्फत जापानमा रोजगारीका लागी पठाउँछु भन्दै ४७ लाख ठगेको आरोपमा युवती पक्राउ

निरेम अपडेट
१ जेठ २०८१ १५:१५

काठमाडौँ । सामाजिक सञ्जाल ‘फेसबुक’ लाई माध्यम बनाएर ठगेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका–८ घर भएर कुलेश्वर बस्ने सुनिता गुरुङ छिन् ।

२८ वर्षीया गुरुङले ४७ लाख ६८ हजार ठगी गरेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।फेसबुकमा ‘फ्लावर सप नगया’ नामको आइडी बनाएर म्यासेन्जरमार्फत जापानमा चप्पल कारखाना, माछा प्याकिङ र कलम फयाक्ट्रीमा रोजगारीका लागी पठाउँछु भनेर उनले रकम असुलेकी हुन् ।

पीडितहरूसँग रकम असुलेपछि उनी सम्पर्कविहीन भएकी थिइन् । उनलाई कुलेश्वर हाइटबाट पक्राउ गरिएको एसपी रेग्मीले जानकारी दिए ।