सुनको भाउमा नयाँ रेकर्ड : तोलाको १ लाख ४० हजार ९ सय रुपैयाँ पुग्यो

निरेम अपडेट
६ जेठ २०८१ १२:००

काठमाण्डौ / सुनको भाउले आज नयाँ रेकर्ड बनाएको छ । आज सुनको भाउ तोलाको एक लाख ४० हजार नौ सय रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च भाउ हो ।

गएको बिहीवार तोलाको एक लाख ४० हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको सुनको भाउ शुक्रवार तोलामा सात सय रुपैयाँले घटेर एक लाख ३९ हजार तीन सय रुपैयाँमा झरेको थियो । शुक्रवारको भाउमा आज तोलामा एक हजार छ सय रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । शुक्रवार तोलाको एक हजार आठ सय रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा एक सय १० रुपैयाँले बढेर एक हजार नौ सय १० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।