अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा राई माईला अमेरिका प्रस्थान

निरेम अपडेट
६ असार २०८१ १४:२४

अमेरिकाको मेरिल्यान्ड राज्यमा जुन २० देखि २३ सम्म आयोजना हुने नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी हुन निर्देशक सुब्बा र अभिनेता राई त्यसतर्फ प्रस्थान गरेका हुन् । महोत्सवमा उनीहरूको सहकार्यमा बनेको ‘गाउँ आएको बाटो’ ओपनिङ स्क्रिनिङ हुँदै छ।

महोत्सवको रेडकार्पेट प्रिमियरमा निर्देशक सुब्बा र अभिनेता राई सहभागी हुन लागेका हुन्। मेरिल्यान्डस्थित एएफआई सिल्भर थिएटरमा जुन २० (बिहीबार) मा ‘गाउँ आएको बाटो’ प्रदर्शन गरिने भएको छ । चलचित्रमा दयाहाङसहित पशुपति राई र बाल कलाकार प्रसन राईको मुख्य अभिनय छ । 

राई समुदायको सामाजिक पृष्ठभूमिमा बनेको चलचित्रले गाउँमा सडक आएपछि बाबु–छोराको सम्बन्धमा आउने उतारचढावलाई चित्रण गर्छ । । यो  चलचित्रलाई फिडेल देवकोटाले निर्देशन र रामकृष्ण पोखरेलले निर्माण  गरेका हुन्। महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका कथानक, वृत्तचित्र, सर्ट र एनिमेसन गरी ३५ फिल्म स्क्रिनिङ हुनेछन् ।

महोत्सवमा राजन कठेत र सुनिर पाण्डे निर्देशित डकु–ड्रामा ‘ढोरपाटन’ र केसाङ छेतेन निर्देशित वृत्तचित्र ‘डाइभर्सिटी प्लाजा’ पनि प्रदर्शन हुनेछन्।महोत्सवमा समापन चलचित्रको रूपमा ‘द रेड सुटकेस’ प्रदर्शन हुनेछ । प्रदर्शन गरिएकामध्येबाट उत्कृष्ट फिल्मलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिने भएको छ। महोत्सव उद्घाटन र समापन मेरिल्यान्डस्थित एएफआई सिल्भर थिएटरमा हुने आयोजक नेपाल–अमेरिका फिल्म सोसाइटीले जनाएको छ । चार दिनसम्म चल्ने महोत्सवका चलचित्र भने एएफआई सिल्भर थिएटर र ग्रिनबेल्ट थिएटरमा प्रदर्शन हुनेछ ।