पत्रकारिता गरेपछि ‘रुन पाइन्न’

निरेम अपडेट
२१ साउन २०८१ २०:२८

दक्षिण एसियाको आम प्रवृत्ति हेर्ने हो भने शासकहरुको शक्ति–अभ्यासले सञ्चार क्षेत्र प्रताडित हुन थालेको छ। कलम बलियो कि तरबार ? स्कुल पढ्दाताका वादविवाद प्रतियोगिताको चल्तीको विषय हुने गथ्र्यो यो । हामी प्राय: कलमकै पक्षमा तर्क गर्न खोज्थ्यौं । अहिले यसैगरी कसैले शासक बलियो कि मिडिया भनेर सोध्यो भने जवाफ के होला ?

भुटानी दैनिक क्युन्सेलका सम्पादक उग्येन पेन्जोरसँग यसबारे रोचक संस्मरण रहेछ । केहीअघि एउटा भेटमा भुटानका राजा आफैंले उग्येनलाई भनेछन्, ‘पहिले केही समस्या पर्‍यो भने जनता राजाकहाँ आउँथे, अहिले त उनीहरू मिडियामा जान्छन् । वास्तवमा तिमीहरू राजाभन्दा शक्तिशाली हौ ।’
भुटानका युवा राजा जिग्मे खेसर नामग्याल वाङचुकले मिडिया साँच्चै शक्तिशाली बन्दै गएको देख्नु या त्यसो भनिदिएर आफ्ना सरकारी मुखपत्रका पत्रकारलाई फुर्काइदिनु एउटा कुरा हो, तर दक्षिण एसियाको आम प्रवृत्ति हेर्ने हो भने शासकहरूको शक्ति–अभ्यासले सञ्चार क्षेत्र नै प्रताडित हुन थालेको छ । बंगलादेशकै उदाहरण लिऊँ, जहाँ उग्येनले दक्षिण एसिया र युरोपका केही सम्पादकहरूमाझ शाही–संवाद सुनाइरहँदा छेवैमा महफुज अनम र मतिउर रहमान पनि थिए, जो सरकारी वक्रदृष्टिका पछिल्ला भुक्तभोगी हुन् ।
एउटै प्रकाशन समूहअन्तर्गत दुइटा दैनिकको सम्पादक रहेका उनीहरू बंगलादेशका प्रतिष्ठित पत्रकार हुन् । विख्यात म्यागासेसे पुरस्कारबाट सम्मानित भइसकेका मतिउर त्यहाँको सबभन्दा चल्तीको बंगाली दैनिक प्रोथोम आलोका सम्पादक हुन् भने महफुज अंग्रेजी डेली स्टारको । तर पत्रकार भएकै कारण ७० वर्षीय मतिउर र ६६ वर्षीय महफुज दुवैले पाउनुसम्म दु:ख पाइरहेका छन्, आफ्ना शासकहरूबाट । अहिले उनीहरूको दिनचर्याजस्तै भएको छ, एउटा अदालतबाट अर्को अदालत धाउनु । मतिउरविरुद्ध विभिन्न अदालतमा ५५ वटा मुद्दा दायर छन् भने महफुजले ‘राज्यविरुद्ध अपराध गरेको’ १५ वटा र मानहानिसम्बन्धी ५४ वटा मुद्दा झेलिरहेका छन् । कहिलेकाहीं त एकै दिन या एकै समय टाढा–टाढाका अदालतहरूमा एकसाथ सुनुवाइ राखिंदो रहेछ । त्यसमाथि ढाकाको कुख्यात ट्राफिक जाम, एक ठाउँबाट अर्कोमा हाजिर हुन पुग्न नै सास्ती !
‘यो हामीलाई शारीरिक दु:ख दिएको मात्र होइन, मनोवैज्ञानिक रूपमा दबाब उत्पन्न गरेको हो, ताकि हामीले काम गर्दा सेल्फ सेन्सरसिप गरौं,’ महफुजले हामीलाई सुनाए । उनीहरूले खेपिरहेको मुद्दाको पुष्टि हुने हो भने हरेक मानहानिबापत दुई–दुई वर्ष र ‘राज्यविरुद्धको अपराध’मा तीन–तीन वर्ष गरी सय वर्षभन्दा बढी कैद सजाय भोग्नुपर्ने हुन्छ । सरकारले त्यही तरबार टाउकामाथि झुन्ड्याएर उनीहरूलाई झुकाउन खोजिरहेको छ, आधा शताब्दीदेखि घनिष्ठ साथी रहेका यी दुई जोधाहा पत्रकार भने भिडेका भिड्यै छन् ।
त्यहाँको सैन्य गुप्तचर विभागले १५ वटा ठूल्ठूला व्यापारिक कम्पनीहरूलाई दबाब दिएर स्टार र प्रोथोम आलोमा छापिने विज्ञापनहरू पनि एक वर्षदेखि रोकिरहेको रहेछ, ताकि आर्थिक रूपले समेत ढाड भाँच्न सकियोस् । तत्कालीन भारतीय राजदूत राकेश सूदले कान्तिपुरलाई सताउन कूटनीतिक शक्ति दुरुपयोग गरेर बहुराष्ट्रिय कम्पनीका विज्ञापनहरू लामै समय रोकेको, अनि एक जना विवादास्पद न्यायकर्मीले अदालतमा आफैं उपस्थित भइरहनुपर्ने गरी मानहानिको अंकुश लगाएको घटना मलाई याद आयो । भर्खरै लोकमानतन्त्रका बेला त अझ धेरै सञ्चार माध्यमहरूले दु:ख पाएको आम स्मरणमा ताजै छ ।
बंगलादेशका यी दुई पत्रिकालाई भने प्रधानमन्त्री शेख हसिना उपस्थित हुने कार्यक्रममा रिपोर्टिङ गर्नसमेत रोक लगाइएको रहेछ, देखिने–नदेखिने अरू दबाब त छँदैछन् । त्यसको कारण अरू केही थिएन, प्रोथोम आलोले सरकारी भ्रष्टाचारका शृंखलाबद्ध खुलासा गरेपछि प्रधानमन्त्री हसिनाको पार्टी– अवामी लिग आक्रोशित भएको थियो । चल्तीफिर्तीका प्रधानमन्त्री–पुत्र सजीव वाजेदले सम्पादकद्वय महफुज र मतिउरलाई ‘राज्यविरुद्ध अपराध’ गरेको अभियोगमा गिरफ्तार गर्नुपर्ने सार्वजनिक अभिव्यक्ति नै दिएका थिए ।
चिटगाउँ पहाडी क्षेत्रमा गरिएको एउटा सैनिक कारबाहीमा पाँच जना निर्दोष आदिवासीहरू ‘आतंककारी’ का नाममा मारिएको रिपोर्टिङ छापेपछि त मतिउरविरुद्ध सेना पनि खनियो । यस्तै अर्को घटनाका कारण डेली स्टारका सम्पादक महफुजसँग सैन्य संस्थापन रुष्ट भएको थियो । यसको पृष्ठभूमि भने सन् २००७ को थियो, जुन बेला सेनाले ‘कू’ गरेर बुख्याचा सरकार चलाउँदा उसले दिएको सूचनाको सत्य–तथ्य पुन:पुष्टि नगरी हालकी प्रधानमन्त्री शेख हसिनालगायत अन्य केही जोडिएको भ्रष्टाचारसम्बन्धी समाचार छाप्ने आफ्नो सम्पादकीय निर्णय त्रुटिपूर्ण रहेको महफुजले अहिले आएर स्विकारेका थिए । त्यस्ता सैन्य प्रपोगन्डालाई ठाउँ दिनुपर्ने बाध्यता उसबेला अरू थुप्रै सम्पादकलाई थियो, पेसागत निष्ठाका कारण सायद महफुजलाई भने त्यसले पोलिरह्यो, त्यसैले उनले त्यो कुरा लुकाइरहन चाहेनन् । त्यसबारे एउटा टेलिभिजन परिसंवादमा बोलिदिएपछि सरकार र सेना दुवैले उनलाई तारो बनाउन खोजेका छन् ।
सन् १९७१ मा पूर्वी पाकिस्तानबाट छुट्टिएर खडा भएको नयाँ राष्ट्र– बंगलादेशको खास संस्थापन सेना नै देखिँदै आएको छ, जसका कारण ४५ वर्षे अवधिमा त्यहाँ सैन्य विप्लव र प्रति–विप्लवका दर्जनौं घटना भइसकेका छन् । पछिल्लो सन् २००७ मा भएको थियो, जसको अवतरण दुई वर्षपछि गरिएको चुनावले गर्‍यो, जसमा अवामी लिग विजेता भयो, पूर्वप्रधानमन्त्री खालेदा जियाले नेतृत्व गरेको बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले धाँधली भएको भनेर परिणाम स्विकारेन । ०१४ को चुनावमा त बीएनपीले भागै लिएन, अवामी लिगको एकछत्र राज चल्यो । अनि अरू चर्कियो प्रधानमन्त्री शेख हसिनाको प्रतिशोधको सिलसिला ।
संस्थापक राष्ट्रपति शेख मुजिबुर रहमानकी छोरी हसिना र पूर्वराष्ट्रपति जियाउर रहमानकी पत्नी जियाबीचको पुस्तौनी दुश्मनीले बंगलादेशको राजनीति सदैव प्रभावित रहँदै आएको छ । अहिलेकी प्रधानमन्त्री हसिनाले जिया र उनको पार्टी बीएनपी क्षत–विक्षत हुने गरी दमन अभियान चलाएकी छन् । बीएनपीका सयौं नेता–कार्यकर्ता जेलभित्र छन् । यो बद्लाभाव राजनीतिको घेरामा मात्र रोकिएको छैन, जो–जो विरोधी छन् सबैलाई तह लगाउने गरी सरकार अगाडि बढेको छ । उदारवादी दृष्टिकोण राख्ने डेली स्टारका महफुज र प्रोथोम आलोका मतिउरजस्ता सम्पादक त्यही घानमा परेका हुन् । अर्को अंग्रेजी दैनिक न्यू एजका सम्पादक नुरुल कबिर र अरूहरू थुप्रै जना यस्तै सकसबाट गुज्रिरहेका छन् ।
हालै प्रोथोम आलोको अठारौं वार्षिकोत्सवको अवसर पारेर मतिउरले दक्षिण एसिया, युरोप र अमेरिकाबाट झन्डै दुई दर्जन सम्पादक र सञ्चार स्वतन्त्रता पक्षधर अगुवाहरूलाई ढाकामा निम्त्याएका थिए । एउटा स्थानीयभाषी पत्रिकाले आफ्नै साधनस्रोतमा गरेको त्यो कार्यक्रम प्रेरणादायी त छँदै थियो, तिनले भोगेको संकटविरुद्ध ऐक्यबद्धताजस्तो पनि भयो त्यो अन्तर्राष्ट्रिय सञ्चार जगत्को ।
फेरि यस्तो समस्या बंगलादेशमा मात्र सीमित छैन, अहिले विश्वभरि नै अनुदार र असहिष्णुताको बिगबिगी छ । अमेरिकामा ट्रम्पको विजयले के–कस्तो विपत्ति ल्याउने हो, मानिसहरूले अनुमान मात्र गरिरहेका छन्, तर हामीकहाँ र छेउछाउ त यस्तो प्रवृत्तिले मौका पाउनासाथ पटकपटक टाउको उठाइरहेकै छ ।
ढाकाको हाम्रो कुराकानीमा घरीघरी ट्रम्प आइरहे, तर मोदीले पनि पिछा छाडेनन् । भर्खरै भारतको सञ्चार मन्त्रालयले पन्जाबको पठानकोटमा भएको आतंककारी आक्रमणसम्बन्धी फुटेज देखाएको भनेर एनडीटीभी न्युज च्यानलको प्रसारण एक दिनलाई रोकेको थियो । विश्वको सबभन्दा ठूलो लोकतन्त्र मानिने मुलुकमा यसखाले अंकुश आफंैमा अनौठो हो, जो अपवादको घटना नहोला कि भन्ने आशंका त्यहाँबाट आएका सम्पादकहरूलाई थियो ।
भारतीय लेखकहरूले राज्यबाट दिइएको पदक बहिष्कार अभियान नै चलाउनुपरेको घटनाक्रम पनि पुरानो भएको छैन । एकातिर विकास आयोजनाका ठूल्ठूला कुरा गर्ने र अर्कोतिर संकीर्ण राष्ट्रवादको नारा चर्काउने प्रवृत्ति त्यहाँ मोदीकालमा मौलाएको छ । जस्तो कि इन्डियन एक्सप्रेसका प्रधानसम्पादक राजकमल झाले हामीमाझ भने, ‘विकास र अति ाष्ट्रवादका नारा हाम्रो समयका दुइटा सबभन्दा ठूला डब्ल्यूएमडी (विपन्स अफ मास डिस्ट्रक्सन) हुन्, जसलाई राजनीतिक नेतृत्वले राम्रोसँग उपयोग गरेको छ ।’
उनी तिनै राजकमल हुन्, जसले एक साताअघि मात्रै आफ्नै प्रकाशनले आयोजना गरेको पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदीकै सामुन्ने उनको शैलीको तिखो आलोचना गरेका थिए । अनि भनेका थिए, ‘असल पत्रकारिता मरिरहेको छैन, वास्तवमा यो अझ राम्रो र फराकिलो हुँदै गएको छ । तर खराब पत्रकारिताले यति चर्कोसँग हल्ला गर्न थालेको छ कि, यस्तो अवस्था पाँच वर्षअघिसम्म थिएन ।’
समस्या पत्रकारितामा पनि छ, खासगरी पत्रिका या टीभीलाई मागिखाने भाँडो या राजनीतिक औजार बनाउनेहरूका कारण । त्यसमाथि नेताहरू आफैंले पनि अचेल ‘पत्रकारिता’ गर्न थालेका छन् । ‘नेताहरूका आ–आफ्नै न्युजरुम छन् । ट्वीटर, फेसबुक र पोर्टलहरूको सञ्जाल छ, अनि आफ्ना कुरा फैलाउने कार्यकर्ताहरूको ब्रिगेड नै उनीहरूसँग छ । त्यसैले फ्याक्टभन्दा फल्स चाँडो फैलन्छ,’ राजकमलले बताए ।
हामीकहाँ पनि परिस्थिति खासै भिन्न छैन । फरक यति हो, कतिपय अवस्थामा अप्ठेरो पर्दा भने मिडिया या सोसल मिडियालाई नै दोष दिने चलन पनि छ । प्रधानमन्त्री प्रचण्डले केहीअघि सामाजिक सञ्जाललाई कसरी नियन्त्रण गर्ने होला भनी सार्वजनिक रूपमा जाहेर गरेको ‘चिन्ता’ त्यस्तै प्रवृत्तिको द्योतक हो ।
भारतबाटै आएकी पत्रकार ज्योति मल्होत्राले अनुदारवादको आरम्भ मोदीकालभन्दा पहिल्यै सुरु भएको टिप्पणी गरिन् । उनका अनुसार, यसअघि मनमोहन सिंहकै पालामा पनि अभिव्यक्ति स्वतन्त्रतामाथि आँच पुर्‍याउने कार्यहरू भएका थिए । मल्होत्राले एके रामानुजान लिखित ‘थ्री हन्ड्ेरड रामायणाज’ शीर्षकको चर्चित निबन्ध त्यस बेला दबाब दिएर बीएको इतिहास पाठ्यक्रमबाट हटाइएको दृष्टान्त पेस गरिन् ।
पूर्वोत्तर भारतबाट सन् १९४५ देखि प्रकाशित हुँदै आएको सिलोङ टाइम्सकी सम्पादक प्याट्रिसिया मुखिमको गुनासो छुट्टै थियो । ‘भारत ग्रेट डेमोक्रेसी हो, तर हामीले अभिव्यक्ति स्वतन्त्रता गुमाउँदै गएका छौं । नर्थइस्टमा त अझ गाह्रो छ, यो त यस्तो द्वन्द्वग्रस्त क्षेत्र हो, जसबारे दिल्लीलाई पनि मतलब छैन,’ उनले बताइन ।
हिन्दु दैनिकका सम्पादक मुकुन्द पद्मनाभनको भनाइ पनि फरक थिएन, ‘सात महिना भयो म हिन्दुको सम्पादक भएको, तर यो जिम्मेवारीमा आएपछि मैले जुन किसिमको दबाब भोग्नुपरेको छ, यस्तो कहिल्यै अनुभव गर्नुपरेको थिएन ।’ यसअघि हिन्दु समूहकै आर्थिक दैनिकको सम्पादक रहेका उनी यसबारे धेरै खुल्न चाहेनन्, तर उनको भनाइले पत्रकारिताको खुम्चँदो अवस्थातर्फ संकेत गथ्र्यो । यस्तो अवस्था जो भारत मात्र होइन, नेपाल, पाकिस्तान, श्रीलंकालगायत यो क्षेत्रका सबैजसो देशमा झाङ्गिँदै गएको छ– सरकार, राजनीतिक दबाब, विदेशी प्रभाव, कर्पोरेट स्वार्थ आदिले गर्दा ।
त्यसैले बंगलादेश मात्र अपवादको मुलुक होइन, जहाँ प्रेस संकुचित हुँदै गएको होस् । तर अन्य दक्षिण एसियाली मुलुकको तुलनामा चाहिं यहाँ सरकारी र अतिवादी दुवैखाले ज्यादती समानान्तर ढंगबाट बढेका छन् । एकातिर राज्यको दबाब छ, अर्कोतिर धार्मिक कट्टरपन्थीको दबदबा । यहाँका उदारवादी ब्लगरहरूको शृंखलाबद्ध हत्याले त आतंक मच्चाएको थियो नै, गत जुलाईमा ढाकाको गुलसन क्षेत्रस्थित होली आर्टिसन क्याफेमा आतंककारी आक्रमण गरेर दुई दर्जनभन्दा बढीलाई मारिएको अर्को घटनाले त संसारभरि सनसनी फैलायो । हालै हिन्दु धर्मावलम्बीका घर र मन्दिरहरूमा गरिएको तोडफोडले असुरक्षा अरू थपेको छ । त्यसमाथि सरकारले आतंककारी तह लगाउने नाममा विपक्षी र प्रेसमाथि दमनचक्र चलाउने क्रम जारी राखेको छ ।
यो अराजकताले सम्पादकद्वय महफुज र मतिउरलाई आजित बनाइसकेको रहेछ । महफुजले थपे, ‘अहिले हाम्रो देशमा संकीर्णतावाद, अतिराष्ट्रवाद, जातिवाद, धार्मिक कट्टरतालगायत सबैखाले अनुदारवाद बढेको छ । अथवा भनौं– अतिवादको पुनरावृत्ति भएको छ ।’ त्यसैको सिकार आफूहरू भएको उनको भनाइ थियो ।
‘तर पत्रकारिता गरेपछि यस्ता समस्याहरू आउँछन्, रुँदै हिँड्ने कुरा भएन,’ शालीन स्वाभावका महफुजले भने, ‘वास्तवमा म क्राईबेबीजस्तो देखिन पनि चाहन्नँ । किनभने युद्धमा गएका सैनिक मारिन सक्छन् । हामी पनि निर्भीक पत्रकारिता गर्न खोज्छौं भने यस्ता दबाब र धम्कीहरू आइहाल्छन् । यो पार्ट अफ दी गेम नै हो । यसबाट हामी विचलित हुनु हुँदैन, छैनौं पनि । खाली यति हो– तपाईंहरूले ऐक्यबद्धता जनाइदिनुभए पुग्छ ।’
सबभन्दा ठूलो ऐक्यबद्धता या ढाडस त उनले आफ्नै प्रकाशकबाट पाएका रहेछन् । हाम्रो छलफल चलिरहँदा एक जना भलाद्मी कुनामा आएर खुसुक्क बसेका थिए नबोलीकन । उनै रहेछन् रतिफुर रहमान– प्रोथोम आलो र डेली स्टारका लगानीकर्ता । उनले सम्पादकहरूलाई भन्दा रहेछन्, ‘कुनै पनि धम्की र दबाबबाट तपाईंहरू विचलित नहुनुहोला । विज्ञापन आएन भनेर त बिल्कुलै चिन्ता नलिनुहोस्, आर्थिक व्यवस्थापन कसरी मिलाउने, त्यो मेरो जिम्माको कुरो हो । तपार्इंहरू बस्, जे सही लाग्छ त्यो छाप्नुहोस्, पत्रिका निकाल्नुहोस् ।’
पछि हामीसँग भेट हुँदा पनि उनले यिनै कुरा दोहोर्‍याए । थप कुरा सुन्दै जाँदा सम्मानभाव जाग्यो । उनको पत्रिका सरकारबाट पीडित रहेको त हामीले थाहा पाएका थियौं, उनी अतिवादीबाट पीडित रहँदारहँदैसमेत सम्पादकीय स्वतन्त्रताका पक्षमा अविचलित उभिएका रहेछन् ।
गत जुलाईको होली आर्टिसन क्याफेमा भएको आक्रमणमा मारिनेहरूमा दुई जना बंगलादेशी थिए, तिनमा एक जना अमेरिकाको एटलान्टामा पढ्दै गरेका र छुट्टीमा घर आएका २० वर्षे फराज हुसैन थिए, जसलाई स्थानीय भनेर आतंककारीले बाहिर निस्कन भनेका थिए, तर त्यहाँबाट नभागी आफूसँगै रहेका दुई विदेशी साथीलाई जोगाउन खोज्दा उनको नृशंस ढंगले हत्या गरिएको थियो । रतिफुर तिनै साहसी युवाका हजुरबुवा रहेछन् ।
‘मेरो नाति त मभन्दा साहसी रहेछ,’ उनले यसो भनिरहँदा आँखाभरि आँसु छचल्किसकेको थियो । वास्तवमा साहस त मतिउर र महफुजसँगै रतिफुरले पनि उत्तिकै देखाइरहेका छन्, सिंगो बंगाली सत्तासँग लड्ने क्रममा ।

सुधीर शर्मा

ekantipur.com


You cannot copy content of this page