बैदेशिक जीवन: संघर्ष, अनुभव र चुनौती
दिल प्रसाद पौडेल
जैमिनी-१०, बागलुङ
हाल- कुवेत
बैदेशिक जीवन भन्नू नै संघर्ष, अनुभव, अनुभूति, र चुनौतीको गहिरो खाडल हो। म अहिले जीवनको उत्तरार्धमा आइपुग्दा, जीवनका हरेक उकाली-ओरालीसँग सम्झौता गर्दै, बेकसुर मरुभूमीको तातो वालुवासँग पौठेजोरी खेल्न विवश छु। सपनाहरु पूरा गर्ने योजना, लक्ष्य र उद्देश्य सहित प्रवासमा पसेका म जस्तै लाखौँ मजदुरहरु पीडा, वेदना, रोदन र चीत्कार बोकेर तड्पिरहेका छन्। खाडी मुलुकमा चारैतिर सेतो वालुवा अनि तातो हावा, र पहाडजस्तै देखिने मस्जिदका थुम्काले पनि मनमा खिन्नताको उत्खनन भइरहेझैं लाग्दोरहेछ।
बिरानो ठाउँ, नयाँ मान्छे, फरक भाषा र बेग्लै परिवेशले गर्दा होला, मातृभूमिको याद सपनाजस्तै बनेर हरेक रात निद्रामा आइरहेको हुन्छ। सपनामा सजिएका मेरो मनका महल, बिपना र समयका घडीहरु, चाहे मेरो भाग्यमा रहे वा नरहे पनि, जीवन संघर्षमै चलिरहेको छ। म आफ्नो जीवन आफैँले केलाउन, मूल्याङ्कन गर्न सक्ने अवस्थामा छैन, किनभने सोच्ने समय नै मिलेन। जीवन भोगाइले नै सबै कुरा सिकाइरहेको छ। अवसरको लागि टोलाउनुपर्ने यथार्थ यहाँ आइपरेका छन्। जति नै प्रयास गरे पनि, शरीर रित्तो हुँदै गएको छ, मानौं कि त्यो चङ्रङ्ग एक झिल्को लाइटरको टुक्राले सल्काइदिएको हो।
म जति नाचेको छु, हाँसेको छु, तर अरुकै खुशिमा म हाँसेको हुँ। अन्ततः मेरा खुशिहरुबाट म आफैँ विलिन भइसकेको छु। समर्थन गर्नेहरु नभएका होइनन्, तर मैले सन्तुलन गर्न सकेन। बैदेशिक रोजगारकै शिलशिलामा खाडीको मरुभूमिमा अवतरण भएका मेरा पाइला यहाँको सपना अनुसारको परिवेश बिल्कुलै फरक हुँदै गइरहेछ। समस्या त्यो होइन कि मानिस गरिब भएकै कारण घरपरिवार, ईष्टमित्र सबैलाई विदाई गरेर, रित्तो खोला, हरियो पासपोर्ट, अनि मनभरि सम्झना, माया, प्यार र स्नेहका थैलाहरुमा साहुका तिता वचनको कुम्लो बोकेर म्यानपावरका सिँढीहरु चढ्दै, गल्लीहरु चाहार्दै गहभरि अश्रुजल सङ्गालेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ढोकाबाट प्रवेश गरिन्छ। लाग्छ, जीवन भोगाइको नयाँ अध्याय सुरु भएको छ।
लाखौँ नेपालीहरु सायद म जस्तै गरिब र आर्थिक अभाव कमजोर भएर नै विदेश पलायन हुने गरेका छन्। जति पढे पनि, जति अनुभव बटुले पनि, अन्ततः गन्तव्य अरब नै रहेछ। बैदेशिक रोजगार नेपालीहरुको रहर होइन, बाध्यता हो। यसको आवश्यकताको महत्त्वको विश्लेषण गर्नु भन्दा पनि, वर्तमानमा देखिएको राज्यको अपारदर्शी भूमिकाले निम्त्याउन सक्ने दुर्घटनाको चिन्ता हुनु स्वाभाविक हो। यस क्षेत्रमा हालै उठान भएका ‘फ्रि भिषा र फ्रि टिकट’ र ‘शुन्य लागत’को सन्दर्भमा, नेपालको बैदेशिक रोजगार क्षेत्रलाई नियमन गर्ने ऐन कानुनको स्पष्ट कार्यदिशाहरुलाई हेर्नै पर्ने हुन्छ।
वैदेशिक रोजगार ऐन २०४२ मा सेवा शुल्क बारे दफा १३ ले कुनै खास रकम वा विधि उल्लेख नगरे पनि, ‘मात्र सेवा शुल्क लिन पाउने’ भन्ने प्रावधान छ। सरकारले तत्कालीन अवस्थामा खाडी मुलुकमा रोजगारीमा जानका लागि रू. ७०,००० लागतसहित अन्य मुलुकहरुका लागि पनि सोही अनुरूपको शुल्क रकम तोकेको थियो। वैदेशिक रोजगार नियमावली २०५६ को दफा १७ ले गरेको व्यवस्था अनुसार, सेवा शुल्क बापत संस्थाले कामदारको पहिलो महिनाको तलबको २५ प्रतिशत रकम लिन पाउने व्यवस्था थियो। वैदेशिक रोजगार ऐन २०६४ दफा २ मा सेवा शुल्क भन्नाले बैदेशिक रोजगार व्यवसायीले कामदार विदेश पठाए बापत लिने रकमलाई जनाउँछ।
यस ऐनको दफा २१ मा सेवा शुल्क र प्रर्वद्धन खर्च सम्बन्धि उपदफा १ मा ‘नेपाल सरकारले कुनै खास मुलुक वा कम्पनीको लागि प्रति कामदार सेवा शुल्क र प्रर्वद्धन खर्च सहित संस्थाले लिन पाउने रकमको अधिकतम हद तोक्ने छ’ भनिएको छ। सोही बुँदामा ‘प्रर्वद्धन खर्च’ भन्नाले इजाजत पत्रवालाले कामदारलाई रोजगारीमा पठाउँदा लाग्ने प्रवेशाज्ञा शुल्क र कामदारको कोटा उपलब्ध गराउँदा लाग्ने स्वदेश तथा विदेशमा भएको विविध खर्चलाई जनाउँछ। उल्लेखित व्यवस्थालाई प्रतिस्थापन गर्दै तत्कालीन श्रम राज्यमन्त्री टेकबहादुर गुरुङ, जो आफैँ पनि म्यानपावर व्यवसायी हुनुहुन्थ्यो, उहाँले मिति २०७२/०२/२६ र २०७२/०३/०६ मा गरेको मन्त्री स्तरीय निर्णयले शुन्य लागतमा बैदेशिक रोजगारको व्यवस्था गरी सार्वजनिक रुपमा आम नेपालीहरुको मन जित्नुभएको थियो। डा. गणेश गुरुङ संयोजक रहेको वैदेशिक रोजगार सुधार, सुझाव कार्यदलको प्रतिवेदन २०६८ ले तत्काल लागु गर्नुपर्ने कार्ययोजनाको बुँदा १६ मा वैदेशिक रोजगारको लागत शीर्षक उल्लेख गरे पनि यसको कार्ययोजनालाई तोडमोड गरी अन्य असम्बन्धित विषयलाई प्रवेश गराएको पाइन्छ। जसमा भनिएको छ, न्यूनतम पारिश्रमिक तोक्न बाँकी रहेको मुख्य गन्तव्य मुलुकहरुका लागि न्यूनतम पारिश्रमिक निर्धारण गर्ने र राजपत्रमा प्रकाशन गर्ने कुरा उल्लेख छ।
यति हुँदा हुँदै पनि, नेपालीहरु विभिन्न म्यानपावर एजेन्सीलाई लाखौँ रकम हस्तान्तरण गरेरै भए पनि विदेशिन विवश छन्। जेहोस्, परदेशिका पीडा, वेदना, चीत्कार सहितका गुनासोहरु अनगिन्ती छन्। आखिर गरिबीको उपमा यही मरुभूमि, अनि खलखली बगिरहने पसिना, र त्यही पसिनाले भिजेको रित्तो शरीर, अनि अपुरा योजना र सपनाका करोडौँ झ्यालहरु शिवाय केही नहुँदो रहेछ। अन्त्यमा, जहाँ जो जसरी रहेका छौ, निराश मन बोकेर नबसौं। आफ्नो लक्ष्य, उद्देश्य, र योजनाका लागि सदासर्वदा पूरा गर्न, भाग्यमा मात्र होइन श्रममा पनि विश्वास गर्नुहोस्। तपाईहरूको जीवन सुखमय र शानदार बनोस्, शुभकामना। जय नेपाल!”
प्रतिक्रिया दिनुहोस