नक्कली पुलिसदेखी सावधान !
०१ सेप्टेम्बर / कुवेत
यदि तपाई पैदल वा सवारी साधनमा कतै यात्रा गर्दै हुनुहुन्छ र अकस्मात् पुलिसको बर्दि लगाएको कुनै ब्यक्तिले तपाईलाई रोकेर सोधपुछ गर्न थाल्यो भने सावधान रहनुहोला । त्यो पुलिस नक्कली, ठग वा लुटेरा पनि हुनसक्छ ।
हामी धेरैजना पुलिस भन्ने बित्तिक्कै डराएर वा आत्तिएर उसले जे भन्यो त्यहि मान्छौं । उसले भनेका सबै कागजपत्र देखाउँछौ र जवाफ दिईहाल्छौं । तर, पछिल्लो समय कुवेतमा नक्कली पुलिसको बिगबिगी बढेको छ । पुलिसले भन्ने बित्तिक्कै आफ्ना आधिकारिक काजगपत्र वा डिटियल्स नदिनुहोला । तपाईलाई ठग्ने वा लुट्ने मनशायले पछ्याएको पनि हुनसक्छ ।
नक्कली पुलिसले टाउकोमा बन्दुक ताकेर लुटेको यस्तै एउटा घटना सार्वाजनिक भएको छ । घटना अनुशार हिजो शनिवार कुवेतको उत्तर पूर्वी जाहरा क्षेत्रमा डिलिभरीको कामगर्ने एकजनालाई पुलिसको भेषमा ठगले लुटेको छ । पुलिसको जस्तै निलो गाडीमा आएको उक्त ठगले डिलिभरी गर्ने ब्यक्तिको बाईक रोकेर सुरुमा लाईसेन्स, सिभिल आईडि लगायत कागजात मागेको थियो । सबै कागजात ठिकठाक भएपनि उक्त ठग पुलिसले डेलिभरी काम गर्ने ब्यक्तिको टाउकोमा बन्दुक तेर्साएर ४० दिनार पैसा लुटेर भागेको हो । पैसा लुटिएपछी डेलिभरी गर्ने पिडित ब्यक्तिले सुलेबिया प्रहरी चौंकीमा उजुर गरेसँगै घटना बाहिरिएको हो । प्रहरीको भेषमा लुटपाट गर्ने ब्यक्तिको पहिचान गर्न कुवेत प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।
नक्कली पुलिस कसरी चिन्ने ?
‘म पुलिस हुँ सिभिल आईडि देखा’ भन्दै पैदल यात्री तथा सोझासाझालाई ठग्ने गिरोह कुवेतमा सकृय छ । यस्ता नक्कली र ठग पुलिसको फन्दाबाट बच्न हामी चनाको हुनपर्छ । यस्ता ठगहरुबाट जोगिन सुरुमा तपाईहरुलाई भाषाको ज्ञान हुन जरुरी हुन्छ । बिशेष गरी अरबिक र अंग्रेजी भाषा अनिवार्य रुपमा बुझ्न र बोल्न सक्ने हुनुपर्छ । यदि तपाईलाई त्यो ब्यक्ति साँच्चिक्कै पुलिस होईन भन्ने शंका लाग्यो भने तपाईले उसलाई आफ्नो परिचयपत्र ( पुलिस हो भन्ने प्रमाणित हुने आईडेन्टी कार्ड ) देखाउन लगाउनुस । यदि नक्कली पुलिस हो भने तपाईले उसको आईडेन्टी मागेपछी केहि हच्किन सक्छ । तर नामुद र पेशेवर ठग हो भने उसँग पुलिसको नक्कली कार्ड पनि हुनसक्छ । तर त्यो कार्ड र ब्यक्ति नक्कली हो कि सक्कली त्यो पत्ता लगाउँन भने तपाईको खुबीमा र प्रस्तुतिमा भरपर्छ । यदि उ सक्कली पुलिस हो भने उसको कार्डमा टल्कने र अधिक चिल्लो तरिकाले मिनिस्ट्री अफ इन्टेरियर लेखिएको जसमा कुवेत सरकारको लोगो ( चिल उडेको र बिचमा निलो समुन्द्रमाथी जहाज तैरिरहेको ) अंकित हुन्छ । साथै, उसले लगाएको बर्दि ( युनिफर्म ) मा बायाँतर्फ सेतो बाक्लो अक्षरमा उसको नाम र कुवेत पुलिस लेखिएको हुन्छ । यदि तपाईले उक्त आईडेन्टि कार्ड र बर्दिमा लेखिएको नाम भिडाएर हेर्नुभो र त्यहाँ फरक-फरक नाम छ भने थाह पाउँनुपर्छ कि त्यो पुलिस नक्कली अथवा ठग हो । भाषाको ज्ञान नहुनेहरुको लागी यो प्रकृया कठिन हुनसक्छ र ठगिने जोखिम हुन्छ । तसर्थ, कामचलाउ मात्र नै भएपनि अरबिक र अग्रेजी भाषाचांहि जान्नु वा सिक्नु अनिवार्य नै छ ।
प्रतिक्रिया दिनुहोस