“बा: तपाईं नरहेपनी, तपाईका यादहरु जिवितै छन”
जिन्दगी यस्तै रहेछ, बा
तपाईं त स्वर्गको ढोकाबाट मेरो दिनचर्या नियालिरहनुभएको छ होला, तर म भने तपाईको बिंडो थाम्न दिनरात बारीका काँल्ला गोडिरहेको हुन्छु। गाई भैंसीलाई घाँस काट्दै गर्दन बाङ्गो बनाउँदै पत्यानबाट घाँसको भारी लिएर आउँछु। अनि तपाईले बनाईदिएको गुराँसको चारपाटे खुर्पेटो र केतुकीका रेशाबाट बुनेको नाम्लो अझै उस्तै छन्। तपाईं मरेर गएपनी बा, तपाईका यादहरु थुप्रै बाँकी छन्। तपाईले खन्ने गरेको गाँसेको कोदालो, तपाईले लाउने गरेको माईला दमाईले सिलाईदिएको खाकीको अस्कोट, अनि पायल चप्पल मैले अझै पनि घरको पालीमा सिउरेर राखेको छु।
तपाईंका यादहरु ताजै छन्, बा
अनि नि बा, तपाईका यादहरु अझै ताजै छन्। त्यही हाम्रै घरको आँगनको डिलमा ठडिएको आँपको रूखबाट झरेका आपहरू मेरा स्कुले साथीलाई बाँडिदिँदा साथीहरूले ‘तिम्रो बा त कस्तो जाति है’ भन्दा बुर्कुसी मारेर हजुरलाई सुनाउन स्कुलबाट दौडँदै आएको। यी सबै अस्ति भर्खरै मात्र त भएको हो नि, तर समयले नेटो काटिसकेछ, बा।
आज पनि त्यही आँगनको छेउमा ठडिएको धन्सार माथिको कोठामा मेरो बा टिभीमा मद्रासी चलचित्र हेरेर मुर्छा पर्दै हासिराख्नु त भएको छैन? झस्किन्छु म। अनि कतैबाट घर फर्कंदा ‘बा’ भन्दै धन्सारतिरै पुगिसक्दा पो याद आउँछ कि मेरो बा त अस्ति नै हामीलाई छाडेर गइसक्नु भयो।
स्मृतिहरूको सजीवता
अस्पतालको बेडमा हुँदा कति तपाईको छोराछोरी कति छन् भनेर कसैले सोध्दा, ‘मेरा भगवानको रूप लिएर जन्मिएका छोरा छन्। यो चाहिँ कान्छो छोरो हो’ भनेर चिनाउँदै गर्दा दुनियाँ दङ्ग पर्दथ्यो। म क्याबिनमा खाना लिएर जाँदा नर्सहरूले ‘लौ बुबा, छोरो ले खाना लिएर आएँ उठ्नुस्’ भन्दा झर्कंदै ‘छोरो हो मेरो, धेरै जान्ने नहुनु’ भन्दै नर्सहरूलाई हकार्दै ‘तिमीहरू भन्दा जेठो छ मेरो छोरो, आदर गरेर बोल्नु’ भन्दै थर्काउँदा छक्क पर्थे नर्सहरू। ‘दाई, तपाईं र बाको सम्बन्ध त निकै गहिरो रहेछ नि’, भन्दै मलाई सुनाउँदा मेरा आँखामा खुसीको आँसु छचल्किन्थ्यो बा। अनि गर्वका साथ मनमनै भन्थेँ, ‘सबैका बा मेराजस्तै भइदिए।’
तपाईंको यादमा…
त्यही आँगनको बीचमा हजुरको मिहिनेतले ठडिएको घरको पिँढीमा बसेर दसैँमा टीका लगाउँदा, ‘मेरा सबै छोराहरू धेरै पढ्नु, ठूलो मान्छे बन्नु, देश विदेश डुल्नु, नाम राख्नु, सबैको भलो चिताउनु’ भन्दै दिएको आशिर्वाद हजुरको प्राणले यो धर्ती छोडेसँगै लग्यो, बा। गाउँघरका केटाकेटी अमेरिका, अस्ट्रेलिया, जापान गएभन्दा हजुरलाई पनि आफ्ना छोराछोरी विदेश गएको हेर्ने रहर थियो होला। तर के गर्नु, हजुरको प्राण हुँदै त्यो खुसी दिन म सकिनँ, बा। माफ गर्नुहोला, म त अहिले खाडीको मरुभुमीमा चर्को घाम र पसिनाको चंगुलमा फसेको छु।
विशेष सम्झनाका दिनहरू
बा, सबैले आज कुशे औंसी बाबुको मुख हेर्ने दिन भन्दै अंगालो हालेर फोटाहरू पोस्ट गरेको देख्छु अनि अचम्म मान्दै सोच्छु—३६५ दिनमा ३६४ दिन बाबुलाई सम्झिनु नपर्ने अनि एकदिन के को लोकेचार पार्छन् होला? जिउँदो रहँदा बाबुको सेवा गर्न सके पो त अर्थ रहन्छ। हिजो अस्ति वृद्धाश्रममा लगेर छोडेका बा को मृत्यु भइसकेपछि आज एकदिन उनकै फोटो राखेर हेप्पी फादर्स डे भनेको देख्दा अचम्म लाग्छ।
बा, मैले तपाईं मरेर गएपनी हरेक दिन सम्झिरहेको हुन्छु। अझै वर्षमा तीन दिन त विशेष लाग्छ: तपाईं मरेको दिन, सोह्र श्राद्दमा तपाईको तिथि परेको दिन, र बाबुको मुख हेर्ने दिन। अरु दिनभन्दा बढी सम्झना बल्झिदोरहेछ। जदौ।
लेखक: दिल प्रसाद पौडेल, बागलुङ, हाल: कुवेतबाट
प्रतिक्रिया दिनुहोस