Homeप्रवासनेपाल र साउदीबीच श्रम सम्झौताबारे छलफल सकारात्मक, कामदार समस्याबारे पनि व्यापक चासो

नेपाल र साउदीबीच श्रम सम्झौताबारे छलफल सकारात्मक, कामदार समस्याबारे पनि व्यापक चासो

काठमाडौं : नेपाल र साउदी अरेबियाका अधिकारीहरूबीच श्रम सम्झौतालगायत नेपाली कामदारका समस्या समाधानका विषयमा सकारात्मक छलफल भएको छ । साउदीको रोजगारीमा देखिएका समस्या समाधानका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र मातहत निकाय तथा नेपाल वैदेशिक रोजगार व्यवसायीको टोली हाल साउदी अरेबियामा रहेको छ ।

साउदी अरेबियाका लागि नेपाली राजदूत नवराज सुवेदीको नेतृत्वमा भएको छलफलमा मुख्यतः द्विपक्षीय श्रम सम्झौता, जेलमा रहेका नेपाली कामदारहरूले तिर्नुपर्ने जरिवाना माफी, उनीहरूको रिहाइ तथा स्वदेश फिर्तीमा सहजीकरण, करार अनुसारको काम र तलब पाउन नसक्दा उत्पन भएको कामदार, कम्पनी र म्यानपावर कम्पनीको समस्या र ‘मेघा’ कम्पनीको रिक्रुटिङ प्रक्रियामा रहेका समस्या समाधानमा नेपाली पक्षले समकक्षी साउदी पक्षसँग आफ्ना दृष्टिकोण राखेको छ । आफूहरूले राखेका विषयमा साउदी पक्षको सकारात्मक प्रतिक्रिया आएको नेपाली पक्षको भनाइ छ ।

छलफलका लागि नेपालबाट वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दहालको नेतृत्वमा विभागका निर्देशक कविराज उप्रेती तथा मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुसाल, वैदेशिक रोजगार बोर्डकी निर्देशक सीता दुवाडीसहित नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी, महासचिव मेघनाथ भुर्तेल र द्वितीय उपाध्यक्ष सञ्जु गुरूङ गएका छन् । रियादस्थित नेपाली दूतावासमा कार्यरत काउन्सिलर श्रम देवेन्द्र कार्कीलगायत दूतावासका अन्य कर्मचारीको पनि छलफलमा सहभागिता रहेको थियोे । साउदी अरेबियाको तर्फबाट त्यहाँको कानून, श्रम तथा सामाजिक विकास तथा परराष्ट्र अधिकारीहरू सहभागी रहेका थिए । 

नेपाली प्रतिनिधिमण्डलले शुक्रबार रियादमा गैरआवासीय नेपाली संघसहित नेपालीका संघसंस्थासँग नेपाली कामदारका समस्याबारे छलफल गरेकोे संघका महासचिव भुर्तेलले जानकारी दिए ।

- Advertisment -spot_img
निरेम प्रोडक्सन
%d bloggers like this: