विपिन कार्कीले ‘हात्तीछाप’लाई दिए ५ मा ४ ‘रेटिङ’

निरेम अपडेट
२४ माघ २०८० १८:०५

गत वर्षको सफल फिल्म ‘दुई नम्बरी’को ‘स्टारकास्ट’ दोहोर्‍याएर निर्माण भएको फिल्म ‘हात्तीछाप’ यही माघ २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । कात्तिकयता सुस्ताएको बजारलाई चलायमान बनाउने अपेक्षा गरिएको फिल्मले मंगलबार साँझ काठमाडौंमा आयोजित प्रिमियरमा प्रशंसा पाएको छ । फिल्मको कथावस्तु, प्रस्तुति र कलाकारको अभिनयको तारिफ प्रिमियरमा बढी सुनियो ।

‘झिँगेदाउ’ निर्देशक ज्ञानेन्द्र देउजाले नेपालको देशको एउटा कालखण्डको घटनालाई २ घन्टामा समेटेको देखेर आफूलाई आश्चर्य परेको प्रतिक्रिया दिए । उनले भने, ‘फिल्म राम्रो बनेको छ । एउटा कालखण्डलाई २ घण्टामा समेटेको देख्दा म अचम्मित भए । लेखकले गम्भीर अध्ययन गरेर कथा लेखेका छन् । फिल्मको कथा र पात्रले देशको यथार्थ बोल्छ । छायांकन पक्ष उस्तै राम्रो छ ।’

अभिनेता विपिन कार्कीले फिल्मले फरक जोनमा पुर्‍याउने प्रतिक्रिया दिए । ‘फिल्ममा एउटा फरक परिस्थिति देखिन्छ,’ उनले भने, ‘हरेक कलाकारको अभिनय बुलन्द छ ।’ उनले फिल्मलाई ५ मा ४ ‘रेटिङ’ समेत दिए । निर्देशक तथा अभिनेता अशोक शर्माले हात्तीजस्तै फिल्म बलियो रहेको तर्क गरे । फिल्म हेरुन्जेलसम्म रमाइलो लाग्ने बताउँदै उनले दर्शकलाई पूर्ण मनोरञ्जन दिने बताए ।

मोडल तथा अभिनेत्री गरिमा शर्माले फिल्म मनोरञ्जनात्मक रहेको प्रतिक्रिया दिइन् । ‘मलाई त नामका कारण चप्पलसँग सम्बन्धित फिल्म हो कि जस्तो सोचेको थिएँ । त्यस्तो होइन रैछ । समाज र राजनीतिक कुरालाई जोडेर एकदमै राम्रो फिल्म बनेको छ,’ उनले भनिन् । त्यस्तै, निर्देशक शोभित बस्नेतले ‘हात्तीछाप’मा फिल्ममा हुनुपर्ने सबै गुण रहेको धारणा राख्दै हेर्दा रमाइलो लाग्ने बताए ।

प्रिमियरमा पुगेका निर्माता प्रदीप कुमार उदय, निर्मात्री तथा निर्देशक कृषा चौलागाईं, अभिनेता राज कटुवाल, निर्देशकद्वय नवल खड्का र दीवाकर भट्टराई, कलाकार सुलेमान शंकर, अभिनेत्री रिश्ता बस्नेतले पनि कथावस्तु, प्रस्तुति र कलाकारको अभिनयको प्रशंसा गरे । प्रिमियरमा फिल्मका कलाकारहरु सौगात मल्ल, बेनिशा हमाल, उपासना सिंह ठकुरी लगायतको उपस्थिति थियो ।

सिमोस सुनुवारको निर्देशन तथा किरण नेपालीको प्रस्तुति रहेको फिल्ममा विजय बराल, विल्सन विक्रम राई, पुष्कर गुरुङ, रेअर राई, बुद्धि तामाङ, सुष्मा निरौला लगायतको पनि अभिनय छ भने अभिनेता दीपकराज गिरी केमियो भूमिकामा छन् । फिल्ममा उनको ‘इन्ट्री’ दर्शकलाई सरप्राइज हुनसक्छ । मंगलबारबाट देशभरका मल्टीप्लेक्सहरुमा फिल्मको बुकिङ पनि खुलिसकेको छ ।

flimykhaber.com