दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

निरेम अपडेट
९ चैत २०८० ०:४८

भारतको नयाँ दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टी (आप)का अध्यक्ष अरविन्द केजरीवाल पक्राउ परेका छन्। प्रवर्तन निर्देशनालय (इन्फोर्समेन्ट डाइरेक्टोरेट- ईडी) ले दिल्लीको नयाँ मदिरा बेचबिखनसम्बन्धी नीति जारी गर्दा निजी व्यापारीहरुसँग मिलेर आर्थिक लाभ लिएको आरोपमा अनुसन्धानका लागि मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरेको हो ।भारतीय समाचार संस्थाहरुले जनाएअनुसार ईडीको टोली आज साँझ करिब सात बजे केजरीवालको घर पुगेको थियो । झन्डै दुई घण्टाको सोधपुछपछि उनलाई पक्राउ गरिएको हो ।  आज मात्र उच्च अदालतले दिल्लीका मुख्यमन्त्रीको गिरफ्तारीमा रोक लगाउने निवेदन खारेज गरेको थियो । उनले अदालतबाट इडीमा सोधपुछका लागि गएमा आफूलाई गिरफ्तार नगर्ने आश्वासन मागेका थिए ।

सन् २०२१ मा आर्थिक लाभ लिएर मदिरा बिक्रीको सम्पूर्ण अधिकार निजी क्षेत्रलाई दिने गरी नयाँ मदिरा नीति ल्याएको आरोप केजरीवाल नेतृत्वको सरकारमाथि लागेको थियो । सन् २०२१ को नोभेम्बर १७ मा केजरीवाल नेतृत्वको दिल्ली सरकारले नयाँ मदिरा नीति लागू गरेको थियो । नयाँ नीतिमार्फत् दिल्ली सरकारले मदिराको बिक्री वितरणको सम्पूर्ण अधिकार निजी क्षेत्रलाई दिएको थियो ।

त्यसअघि नयाँ दिल्लीमा ६० प्रतिशत सरकारी र ४० प्रतिशत निजी पसलबाट मदिरा बिक्री हुने गरेको थियो । मदिरा बिक्रीबाट सरकारलाई अलग गर्दा केजरीवालले सरकारलाई प्रत्येक वर्ष ३५ सय करोड लाभ प्राप्त हुने दावी गरेका थिए ।

मदिरा नीति लागू भएसँगै प्रदेशका मुख्यसचिवले निजी क्षेत्रका व्यापारीलाई लाभ दिने गरी काम भएको भन्दै प्रतिवेदन तयार गरी अनुसन्धानका लागि अधिकार सम्पन्न निकायलाई आग्रह गरेका थिए । त्यसयता नै यसमाथि अनुसन्धान चलिरहेको थियो ।

यसअघि नै यही आरोपमा दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदिया पक्राउ परिसकेका छन् । सिसोदियालाई सिबीआइले सन् २०२३ को फेब्रुअरी २६ मा गिरफ्तार गरेको थियो । आम आदमी पार्टीका संचार प्रमुख विजय नायर, आपका नेता  संजय सिंह पनि यही केसमा थुनामा पुगेका छन् । उनीहरुलाई तिहाड जेलमा राखिएको छ ।

निजी क्षेत्रका व्यापारीसँग मिलेर आर्थिक लाभ लिएको आरोप केजरीवालमाथि पनि लाग्दै आएको थियो । तर, उनले अस्वीकार गर्दै आएका थिए । उनकै सरकारका उपमुख्यमन्त्री नै यसमा संलग्न रहेको आरोपमा एक वर्षअघि पक्राउ परेपछि उनीमाथि दबाब झन् बढेको थियो ।  यस विषयमा इडी कार्यालयले केजरीवाललाई नौपटकसम्म बयानका लागि बोलाएको थियो । तर, उनी गएका थिएनन् ।