युद्धरत क्षेत्रमा रहेका नेपाली आप्रवासी श्रमिकको जीवन रक्षाका लागि अपिल

निरेम अपडेट
४ वैशाख २०८१ ११:५९

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) र सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल (एनएनएसएम)ले युद्धरत क्षेत्रमा रहेका नेपाली आप्रवासी श्रमिकको जीवन रक्षा, अवस्थाबारे जानकारी र यथाशीघ्र सुरक्षित स्वदेश फिर्ता ल्याउन अपिल गरेका छन् ।

केन्द्रका अध्यक्ष योगेन्द्रकुमार कुँवर र सञ्जालका अध्यक्ष चिरञ्जीवी बरालले संयुक्तरूपमा अपिल जारी गर्दै सरकार तथा सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण गराउनुभएको हो ।

हाल रुस र युक्रेनबीच चलिरहेको युद्धमा ठूलो संख्यामा नेपाली आप्रवासी श्रमिकलाई प्रत्यक्ष र अप्रत्यक्षरूपमा संलग्न गराइएको, अधिकांश नेपालीले ज्यान गुमाइसकेको र बाँकीको अवस्था अज्ञात रहेको सूचना आफूहरूले विभिन्न औपचारिक र अनौपचारिक माध्यमबाट प्राप्त गरिरहेको बताइएको छ ।

युद्धरत क्षेत्रमा रहेका नेपाली आप्रवासी श्रमिकको यथार्थ जानकारी बाहिर नआउनु र परिवारसँग उनीहरूको सम्पर्क हुन नसक्नुले त्यहाँ रहेका नेपाली श्रमिकको अवस्था गम्भीर रहेको पुष्टि भएको संयुक्त अपिलमा उल्लेख छ ।

युद्धरत क्षेत्रमा रहेका नेपाली आप्रवासी श्रमिकको अवस्थाको जानकारी, सुरक्षाको ग्यारेन्टी र सकुशल स्वदेश फिर्ता गरी पाऊँ भनी पीडित परिवारले गरेका मागको प्रभावकारी सुनुवाइ हुन नसक्नु, त्यहाँ मृत्यु हुने श्रमिकको संख्या दिनप्रतिदिन थपिँदै जानुले समस्या थप जटिल बन्दै गएको बताइएको छ ।

नेपाल सरकार, सम्बन्धित मुलुक र तिनका कूटनीतिक निकाय, मानव अधिकार र खासगरी आप्रवासी श्रमिकको अधिकारका क्षेत्रमा कार्यरत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय एवं संघ संस्थाको समेत ध्यानाकर्षण गराउँदै युद्धरत क्षेत्रमा रहेका नेपालीको जीवन रक्षा, उनीहरूको अवस्थाको जानकारी र यथाशीघ्र सकुशल स्वदेश फिर्तीका लागि नेपाल सरकारसँग अपिल गरिएको छ ।

द्वन्द्व प्रभावित क्षेत्रमा जोखिमपूर्ण वा उच्च जोखिमको कामका लागि नेपाली आप्रवासी श्रमिकको भर्तीलाई रोक्न उच्चस्तरको तहबाट तत्काल आवश्यक कदम चाल्न पनि सरकारसँग माग गरिएको छ ।