अब एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गर्न सकिन्छ् : श्रम मन्त्री डोलप्रसाद अर्याल।

निरेम अपडेट
२६ चैत २०८० १३:३७

काठमाडौं / श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गरिने बताउनुभएको छ । आइतबार वैदेशिक रोजगार कार्यालयद्वारा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो ।मन्त्री अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकले कार्यालय समयभित्र अनलाइनबाट कागजात पेश गरेको एक घण्टाभित्र श्रम स्वीकृति प्रदान गर्न सक्ने प्रणाली विकास भएको बताउनुभयो ।

अनलाइनबाट सही तरिकाले कागजात पेश गरेको दुई मिनेट ४४ सेकेण्डमा स्वीकृत गर्न सक्ने अवस्था भएको तर प्रविधिको समस्या, प्रणाली, विद्युत् र इन्टरनेटको उपलब्धतालाई ध्यानमा राखेर एक घण्टामा श्रम स्वीकृत लिन सकिने अवस्था भएको उहाँको भनाइ थियो ।

श्रममन्त्री अर्यालले पछिल्ला दिनमा एउटा पनि श्रम स्वीकृति पेण्डिङमा नभएको दाबीसमेत गर्नुभयो । अब वैदेशिक रोजगारीमा जाँदा श्रमिकले श्रम स्वीकृति लिन दुःख पाउने अवस्था अन्त्य भएको उहाँले जिकिर गर्नुभएको छ ।

वैदेशिक रोजगारमा रहेको बिमा, स्वास्थ्य, अभिमुखीकरणलगायत अन्य कुनै पनि विषयमा सिण्डिकेट हुन नदिइने पनि उहाँले दाबी गर्नुभएको छ ।