‘फर्की फर्की’को आक्रामक सुरुवात

निरेम अपडेट
१० जेठ २०८१ १५:५७

बिहिबार बुद्ध जयन्तीको अवसर पारेर रिलिजमा आएको फिल्म ‘फर्की फर्की’ले बक्स अफिसमा आक्रामक सुरुवात गरेको छ । आज बिहानबाटै हलमा दर्शकको चाप सुखद देखिएको छ ।मध्यान्हपछि भने फिल्म हेर्ने दर्शकको चाप हलमा उच्च देखिएको छ । बेलुकीदेखि रातीसम्मका शोजहरुमा समेत बूकिङ बलियो छ । यसले, फिल्मको ओपनिङ आक्रामक हुने पक्का छ ।

फिल्मका वितरक गोविन्द शाहीले देशैभर फिल्मको व्यापार आक्रामक रहेको सुनाए । उनले भने–‘बिहानैदेखि देशभर दर्शकको चाप उच्च छ । आज बिहिबार भएपनि हलमा दर्शकको चापले सुखद सन्देश दिएको छ । किनकी, बिहिबार कमै मात्र फिल्म चलेको उदाहरण छ ।’फिल्मले बिष्फोटक व्यापार गरेपछि नायक अनमोल केसी खुशी देखिएका छन् । मिडियासँग कुराकानी गर्दै उनले दर्शकको साथले आफू निकै खुशी भएको र आगामी दिनमा अझै राम्रो काम गर्ने बताए ।

नायिका जसिता गुरुङले पनि फिल्मलाई लिएर दर्शकले देखाउनु भएको मायाले आफू भावुक भएको सुनाइन् । नयाँ कलाकार रवि काफ्लेलाई पनि दर्शकले निकै रुचाएका छन् । रविले पनि पहिलो फिल्मबाट राम्रो प्रतिक्रिया पाएको बताए ।
रोहित अधिकारीको निर्माणमा सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको फिल्मले बिष्फोटक व्यापार मात्र गरेको छैन, दर्शकको बलियो वर्ड अफ माउथ समेत पाएको छ । फिल्मको कथावस्तु, मेकिङ, संवाद र कलाकारको अभिनयलाई दर्शकले निकै रुचाएका छन् । फिल्मले आगामी दिनमा आक्रामक व्यापारलाई निरन्तरता दिने देखिएको छ ।