सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा बहस सकियो, आजै आदेश आउने

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको बलात्कारको मुद्दाको बहस सकिएको छ

निरेम अपडेट
१३ पुष २०८० १९:०७

१३ पुस, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको बलात्कारको मुद्दाको बहस सकिएको छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासमा पीडित गौशला २६ आफैं उपस्थित भएर आफ्ना धारणा राखेकी थिइन् । यो मुद्दामा आजै शुक्रबार आदेश आउनेछ।

१६ महिनाअघि क्रिकेटर सन्दीप लामिछानेमाथि नाबालिकामाथि बलात्कार गरेको आरोपमा मुद्दा चलेको थियो ।  यो मुद्दामा पटक पटक सुनुवाइ र अदालतबाट विभिन्न कागजात झिकाउने आदेश भइसकेको थियो ।

के हो मुद्दा ?

राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका लामिछानेविरुद्ध २१ भदौ २०७९ मा उजुरी परेको थियो । सन्दीपले ५ भदौमा बानेश्वरबाट नगरकोट लगेको र राति पिंगलास्थानस्थित होटल काठमाडौं इनमा लगेर बलात्कार गरेको उनको उजुरी थियो ।

त्यो बेला उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्टइण्डिज पुगेका थिए । २० असोजमा नेपाल फर्किएका उनी विमानस्थलमै पक्राउ परे ।

अनुसन्धान प्रक्रिया पुरा गरेर प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत बलात्कारको मुद्दा चलायो, जसमा जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठायो ।

त्यसविरुद्ध सन्दीप उच्च अदालतमा गए । २८ पुस २०७९ मा न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले जिल्लाको आदेश उल्टाउँदै २० लाख धरौटीमा छाड्न आदेश दियो । तर लामिछानेलाई विदेश जान रोक लगाइएको थियो ।

त्यसपछि सन्दीप फेरि राष्ट्रिय टिममा परे । लिग टूको खेलका लागि विदेश जान अनुमति माग्दै सर्वोच्च गए । १५ फागुन २०७९ मा न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासले सन्दीपलाई क्रिकेट खेलका लागि विदेश जाने अनुमति पनि दियो ।