विद्युत महसुल नतिरेका कारण एनसेलका ६ वटा टावरको लाइन काटियो

निरेम अपडेट
१३ पुष २०८० १२:३३

१३ पुस, काठमाडौं ।  विद्युत महशुल नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले एनसेलको ६ वटा टावरको लाइन काटेको छ।

उत्तरी मकवानपुरका विभिन्न स्थानमा रहेका टावरहरुमा जडित विद्युतको लगातार ४ महिनादेखिको महशुल नबुझाएको भन्दै एनसेलका टावरहरुको प्राधिकरणले लाइन काटेको हो।

पालुङ वितरण केन्द्र अन्तर्गत थाहा नगरपालिका र ईन्द्रसरोवर गाँउपालिकाका विभिन्न स्थानमा एनसेलका १३ वटा टावर जडित छन्।

उक्त टावरहरुको आजसम्मको ७ लाख ४३ हजार बक्यौता बुझाउन बाँकी रहेका कारण बढी बक्यौता भएका ६ वटा टावरको लाइन आज काटिएको पालुङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले बताए।

प्राधिकरणले बढी बक्यौता भएका थाहानगरको सिमभन्ज्याङ्ग, ईन्द्रसरोवर गाउँपालिकाको कुलेखानी देउराली, सल्ले, फाखेल, मार्खु तथा कुन्छालमा रहेका टावरहरुको लाइन काटेको हो।

एनसेललाई  बक्यौता बुझाउन पटक –पटक भनिएको भए पनि बक्यौता महशुल नबुझाएकोले लाइन काटिएको र सबै टावरको महशुल नुबझाए क्रमशः सबै टावरको लाइन काटिने प्रमुख न्यौपानेले बताए।

बक्यौता महशुल उठाउन विगत ३ महिनामा मात्रै पालुङ प्राधिकरणले २ सय भन्दा बढी ग्राहकको लाइन काटेको छ भने लाइन काटिएका ग्राहकहरुबाट ९० लाख भन्दा बढी बक्यौता रकम उठाईसकेको छ ।