नेपालमै हाइड्रोजन उत्पादनको परीक्षण सफलतापूर्वक सम्पन्न

निरेम अपडेट
२० चैत २०८० १४:४२

नेपालमै पहिलो पटक हाइड्रोजन उत्पादनको परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ । काठमाडौं विश्वविद्यालयले आइतवार  हाइड्रोजन रिफिलिङ स्टेसनको परीक्षण सफलता पूर्वक गरेको हो ।  

विश्वविद्यालय अन्तर्गतको नेपाल हाइड्रोजन इनिसियटिभ्सका परियोजना प्रमुख तथा उपप्राध्यापक डा. विराजसिंह थापाका अनुसार स्टेसनको सबै परीक्षण सम्पन्न भएपछि कारमा हाइड्रोजन हालिएको हो । 

लामो समयको प्रयासपछि विश्वविद्यालयले हाइड्रोजन उत्पादनमा सफलता प्राप्त गरेको छ । यस कार्य सफल गर्नु सगरमाथा चढनु सरहको अनुभव भएको डा. थापाले प्रतिक्रिया दिए । अविरल र अथक प्रयासपछि पाएको यस सफलताले विधिवत् रुपमा हाइड्रोजन युगमा नेपाललाई प्रवेश गराएको उनको भनाइ छ । 

“विश्वविद्यालयले नै भएपनि हाइड्रोजन उत्पादन गरेर, भण्डारण गरेर, गाडीमा रिफिलिङ गर्ने काम सफलतापूर्वक गरेका छाैं । उक्त हाइड्रोजन नेपालकै जलविद्युत र पानी प्रशोधन गरेर तयार पारिएको हो,” उनले भने । अब औपचारिक रुपमा कार्यक्रम गरेर यस रिफिल स्टेसनको उद्घाटन गर्ने उनले बताए । साथै अब हाइड्रोजनको व्यावसायिक प्रयोगमा जोड दिने र त्यसका लागि आवश्यक पर्ने नीति निर्माणका काममा सरकारलाई घच्घचाउने उनले उल्लेख गरे ।