५० हजार तलब भन्दै फेसबुक विज्ञापन गरेर १७ लाख ठगेको आरोपमा एक जना पक्राउ

निरेम अपडेट
२३ पुष २०८० १२:२५

काठमाडौं । फेसबुकमा विज्ञापन राखेर ‘नेटवर्किङ’ मार्फत काम लगाइदिने भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रवार एक युवकलाई बुढानीलकण्ठ नगरपालिका चपली हाइटको घुम्तीबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा खोटाङ घर भई काठमाडौं बुढानीलकण्ठ बस्दै आएका ३४ वर्षीय हिमाल राई रहेका छन् । प्रहरीका अनुसार उनले सामाजिक सञ्जाल फेसबुकमा मासिक ५० हजार रुपैयाँ तलबका लागि कामदार आवश्यक परेको भन्दै विज्ञापन गरेका थिए ।

उनले मानिसहरूलाई विश्वास दिलाउनका लागि चाबहिल, गंगाहिटी, महाराजगन्ज लगायतका विभिन्न ठाउँमा ‘भिजनरी ड्रिमी प्रालि’ सञ्चालन गरेका गरेका थिए । त्यही कम्पनीमा कामदार आवश्यक परेको र तलब मासिक ५० हजार रुपैयाँ हुने आश्वासन दिने गरेका थिए ।

तर, त्यसभन्दा अगाडि सीप सिक्नुपर्ने भन्दै उनले विज्ञापन मार्फत सम्पर्कमा आएका व्यक्तिबाट प्रति व्यक्ति एक लाख १३ हजार रुपैयाँ उठाउने गरेका थिए । प्रहरीका अनुसार उनले यसरी १५ जनाबाट कूल १६ लाख ९५ हजार रुपैयाँ रकम उठाइसकेपछि तालिम नै नदिई कार्यालय बन्द गरेर सम्पर्क विहीन भएपछि पीडितहरूले उजुरी दिएका थिए । त्यसैका आधारमा अनुसन्धान गर्दै जाँदा प्रहरीले राईलाई शुक्रवार पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान गर्न प्रहरी वृत्त गौशाला पठाइएको छ ।