चलचित्र ‘पुजार सार्की’ मा नायक पल शाह मेघराज खत्रीको चरित्रमा देखिदैँ।

निरेम अपडेट
१८ चैत २०८० १७:१८

काठमाडौं /चलचित्र ‘पुजार सार्की’का नायक प्रदीप खड्का र आर्यन सिग्देलको क्यारेक्टर लुकपछि अर्का नायक पल शाहको क्यारेक्टर लुक सार्वजनिक गरिएको छ । दिनेश राउत निर्देशित यो चलचित्रमा शाह मेघराज खत्रीको चरित्रमा हुनुहुन्छ । उहाँको चरित्र चिनाउने तस्वीर निर्माण पक्षले सार्वजनिक गरेको हो ।

सार्वजनिक तस्बिरमा पल काँधमा बन्दुक बोकेर नदी किनारामा हिँडिरहेका देखिन्छ । भादगाउँले टोपी लगाउनुभएका उहाँले बाहुला नभएको कोट, कमिज र पाइन्ट लगाउनुभएको छ । तस्वीरले उहाँ सामाजिक क्रान्तिका लागि हतियार उठाउन बाध्य भएको युवकको परिचय दिन्छ । निर्देशक राउतले यो चलचित्रलाई जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा संघर्षको कथा रहेको बताउनुभएको छ ।

पञ्चायतकालीन ग्रामीण सेटिङमा बनेको यो चलचित्रको छायांकन कास्कीको रूपाकोटमा गरिएको छ । पटकथा लेखक विकास सुवेदीले आफूले देखेको र भोगेको कथालाई चलचित्रमा उतारिएको बताउनुभयो । चाँडै यो चलचित्रको प्रदर्शन मिति घोषणा गरिने जनाइएको छ । चलचित्रमा अञ्जना बराइली र परिक्षा लिम्बूको पनि अभिनय छ । चलचित्र किंगडम नेटवर्कको ब्यानरमा बनेको हो ।