उपत्यकामा साझाका ४० बिजुली बस

निरेम अपडेट
२८ चैत २०८० १४:२८

साझा यातायातले काठमाडौंमा उपत्यकाभित्र पहिलोपटक ४० वटा विद्युतीय बस सञ्चालन गरेको छ। मंगलबार उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले ४० वटा विद्युतीय बस र २४ वटा चार्जिङ पोइन्टको एकैसाथ औपचारिक उद्घाटन गरे।

साझाले ती बसहरू काठमाडौं उपत्यकाभित्र ‘सिटी बस’ का रूपमा सञ्चालन गर्न थालेको हो। विद्युतीय बस र चार्जिङ पोइन्ट रहेको चार्जिङ डिपो निर्माणको लागत ८५ करोड रूपैयाँभन्दा बढी रहेको साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले बताए। ती बस उपत्यकाभित्र चल्नेछन्।

काठमाडौं उपत्यकाबाहिर भने अवस्था हेरिकन साझाले प्रदेश सेवाअन्तर्गत ठूलाविद्युतीय बस खरिद गर्ने योजना बनाएको उनले बताए। ‘पहिलो चरणमा सिटी बसका रूपमा  ४० वटा बस उपत्यकाभित्र सञ्चालन गर्छौं। त्यसपछि उपत्यका बाहिर पनि बिजुली बस नै चलाउने चाहना हाम्रो छ’, उनले भने, ‘तर विद्युतीय बस चलाउन सडकको अवस्था विचार गरी बिजुली बस अथवा यूरो–६ मापदण्डको बस सेवा प्रस्तुत गर्ने लक्ष्य छ। त्यसका लागि हामीले प्रदेश सरकारसँग पनि सहकार्य गर्नेछौं।’

साझा यातायातले मास ट्रान्सपोर्टेसनमा विद्युतीय परिवहन सेवा सुरु गरेसँगै नेपालमा उत्पादित विद्युत्को खपत बढ्ने भएको छ। मुलुकभित्र उत्पादित बिजुलीको खपत बढ्ने र यसले व्यापार घाटा कम गर्ने अपेक्षा गरिएको छ। हाल साझाले सञ्चालनमा ल्याएका २४ चार्जिङ पोइन्ट रहेको चार्जिङ डिपोमा १.१ मेगावाट बिजुली खपत भएको छ।