ठगी गर्ने एउटै व्यक्तिको तीन नाम

निरेम अपडेट
२१ वैशाख २०८१ १३:०२

काठमाडौं : ‘तपाई वैदेशिक रोजगारको लागि युरोपियन देश जान खोज्दै हुनुहुन्छ ? न्युजिल्याण्ड जाने हो भने १६ लाख लाग्छ, क्रोएसिया र मकाउ जाने हो भने १२ लाख लाग्छ, साउदी अरव गएर चित्त बुझाउनुहुन्छ भने २ लाख ५० हजारमै काम हुन्छ ।’

धुनिवेशी ४ धादिङका ३१ वर्षीय रमेश बयलकोटीले विदेश जान भन्दै उनको कार्यालयमा आउने युवाहरुलाई देश अनुसारको रेट सुनाउथे । उनले छिटो पैसा बुझाए एक महिनामै युरोप उड्न सकिने र छिटै उताको कार्ड बन्ने भन्दै प्रलोभन दिन्थे । युरोप गएर मासिक ५ लाखसम्म कमाउन सकिन्छ भन्दै आश्वासन बाड्थे । विदेशमा गएर लाखौं कमाएर परिवारलाई सुखसँग पाल्ने सपना देखेका ४२२ जनालाई ठगेर ३ उनले करोड बढी उठाएका छन् ।

तिनै रमेश बयलकोटीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीका अनुसार बयलकोटीले युवाहरुलाई ठगी गर्नकै लागि आफ्नो नामसमेत फेर्ने गरेका थिए । ‘तीन वटा नाम बताएर कारोबार गर्ने गरेको प्रमाण प्रहरीले फेला पारेको छ । उनले आफूलाई जिवा गौतम हुँ भन्दै सोही नामबाट महाराजगन्जमा भिसा प्लस प्राइभेट लिमिटेड कन्सल्टेन्सी खोलेका थिए’, प्रवक्ता रेग्मीले भने।

कम्पनिको कार्यालय र उनको कोठाबाट प्रहरीले ८४ वटा पासपोर्ट बरामद गरेको छ ।  १८२ जनाको रेर्कड फाइल पनि प्रहरीले फेला पारेको छ । उक्त रेर्कड फाइलमा उक्त व्यक्ति कुन देश जाने र कति पैसा लाग्नेसमेत छुट्टाइएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईका अनुसार बयलकोटीले ३ वर्ष अगाडि समृद्धि प्रालीमा काम गर्दा संजीव रायमाझी भनेर बताउने गरेको खुल्न आएको छ । भट्टराई भन्छन्, ‘बयलकोटीले फेसबूक, ह्वाट्सएप, टिकटकलगायत सामाजिक सञ्जालमार्फत साथी बनाएर सोझासाझालाई झुक्यानमा ठगी गर्ने गर्थे । उनको धन्दा र्नै झुक्काएर पैसा उठाउने थियो ।’ प्रहरीका अनुसार उनले नक्कली कागजात बनाएर पीडितहरुलाई झुक्कानमा पार्ने रहेछन् ।

न्युजिल्यान्ड, बुल्गेरिया, रोमानिया र क्रोएसिया, सर्विया, साउदी अरव, टर्की, मकाउ लगायतका देशमा जाने भन्दै उनले पीडितकै नाममा बैंक खाता खोल्ने गरेका थिए । कन्सल्टेन्सीमा आएको कागजात प्रयोग गरेर ठगी गर्नकै लागि विभिन्न ठाउँमा भिसा प्लस प्राइभेट लिमिटेडको कार्यालय खोल्ने गरेका थिए । कीर्तिपुरमा बस्दै आएका बयलकोटीले कीर्तिपुरमै ललितजंग बमको नाममा कन्सल्टेन्सी दर्ता गरी सञ्चालन गर्दै आएका थिए । उनले कृषि फार्ममै काम गर्न आएका लक्षिन्द्रबहादुर शाहीको बैंकमा खाता खोल्न लगाएका थिए । शाहीकै नाममा चेक काट्न लगाउँथे ।

प्रहरीका अनुसार यसरी ठगी गर्ने अन्य गिरोह भारतमा बसी काम गर्ने गरेका छन् । बयलकोटीको ठगी धन्दामा सघाउने कालीकोट छाप्रेको दर्शन नेपाली पनि पक्राउ परेका छन् । प्रहरीले उनी बस्ने जडिबुटीको कोठाबाटसमेत पीडितको पासपोर्ट फेला पारेको छ । ठगी धन्दाका खेलाडी रमेश बयलकोटीले विदेश जान आउने युवाहरुलाई सुरुमा प्रोसेस चार्ज भन्दै ५० हजार लिने गरेका थिए ।

नक्कली अफर लेटर देखाएर थप १ लाख ५० हजार र वर्क परमिट आएपछि २ लाख लाग्छ भन्दै ठगी गर्ने गरेका थिए । उनीहरु दुबै जनाविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।

annapurnapost.com