वैदेशिक रोजगारीमा ठगीबारे अधिवक्ता तथा आप्रवासनविज्ञ सोम लुइँटेललाई ३ प्रश्न

निरेम अपडेट
२७ वैशाख २०८१ २२:४६

नेपालमा वैदेशिक रोजगारीमा ठगीका घटना किन बढिरहेका छन् ?

वैदेशिक रोजगारीमा ठगीका घटना वृद्धि हुनुमा तीन–चारवटा ‘बेसिक’ कारण देखिन्छन् । यसमा राज्यको प्रभावकारी अनुगमन छैन । विदेश जान पाइने भयो भनेपछि आँखा चिम्लेर सामान्य कागजसमेत नगरी अर्काको लहलहैमा लागेर रकम बुझाउने कामदार स्वयंका कारण पनि यस्तो ठगी बढिरहेको छ । यस क्षेत्रमा दण्डहीनताको अवस्था पनि छ । अधिकांश घटना मेलमिलापमा टुंगिन्छन् । पीडकलाई खासै दण्डसजाय हुँदैन । व्यवसायीविरुद्ध खासै उजुरी नै पर्दैनन् र मुद्दा चल्दैन । पीडितलाई न्याय दिने एजेन्सीहरू सबै ‘सेन्ट्रलाइज्ड’ छन् । जसले गर्दा सानो उजुरीका लागि पनि राजधानी नै धाउनुपर्ने बाध्यता छ । पीडित कामदारका तुलनामा व्यवसायीहरू निकै बलिया छन् । उनीहरूविरुद्ध कामदारले लडेर जित्न सक्ने अवस्था छैन । यिनै विविध कारणले गर्दा ठगी बढिरहेको छ ।

क्षतिपूर्तिका लागि पीडितले नै पीडकको सम्पत्ति पत्ता लगाएर निवेदन दिनुपर्ने कानुनी व्यवस्थाबारे के भन्नुहुन्छ ?

यो अनौठो व्यवस्था हो । कुनै पनि पीडितले पीडकको सम्पत्ति पत्ता लगाएर निवेदन दिन सक्ने अवस्था विरलै हुन्छ । पीडित एकातिरको हुन्छ भने पीडक अर्कैतिरको हुन सक्छ । यस्तोमा उसले कसरी तोकिएको अवधिभित्र पीडकको सम्पत्ति खोज्न सक्ला र ? त्यसैले, यस्तो कानुनी प्रावधान सच्चिनुपर्छ । यसका लागि राज्यको भरपर्दो इच्छाशक्ति चाहिन्छ ।

यस्तो ठगीमा कमी ल्याउन के गर्नुपर्ला त ?

अनुगमन प्रभावकारी बनाउनुपर्छ । पीडितमा चेतना जगाउनु जरुरी छ । यससम्बन्धी न्यायिक प्रक्रियालाई नै विकेन्द्रीकरण गर्नुपर्छ । बढी दण्डसजाय हुने मुद्दामा मेलमिलाप होइन, कडा सजाय नै गरिनुपर्छ ।

Nayapatrika.com