‘मेयर’को मुहूर्त, खगेन्द्र र वर्षाको जोडी बाँधिने

निरेम अपडेट
२ फागुन २०८० १६:२२

सर्लाहीस्थित बागमती नगरपालिकाका मेयर भरत कुमार थापाको जीवन संघर्षमा आधारित भएर बन्न लागेको फिल्म ‘मेयर’को शुभ मुहूर्त गरिएको छ । वसन्त पञ्चमी (सरस्वती पूजा)को अवसर पारेर बुधबार नारायणहिटी मन्दिरमा मुहूर्त गर्दै कलाकारको ‘लाइनअप’ पनि सार्वजनिक गरियो । दीपेन्द्र के. खनालको निर्देशनमा बन्न लागेको फिल्ममा अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउतको जोडी बाँधिनेछ । उनीहरुले पहिलोपटक एकसाथ काम गर्न लागेका हुन् ।

यही फागुन १२ गतेबाट सर्लाहीको बागमतीमा छायांकन गर्न लागिएको फिल्ममा अर्पण थापा, अनुप बराल, दिव्यदेव, हरिहर शर्मा, रवीन्द्र झा, प्रकाश घिमिरे, रमेश बुढाथोकी, सञ्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसीको पनि अभिनय रहनेछ । यो फिल्मबाट मेयर थापाकी छोरी अर्विशा थापाले डेब्यू गर्दैछिन् भने निर्देशक खनालकी छोरी श्रृष्टिमाँ खनाल र शर्मिला पाण्डे निर्मातामा छन् ।

पटकथा प्रडक्शनको ब्यानरमा निर्माण हुन लागेको फिल्मका कार्यकारी निर्माता निर्देशक खनाल स्वयं हुन् । महेश दवाडीको पटकथा लेखन रहेको फिल्मलाई कृष्ण बहादुर थापाले खिच्नेछन् भने जयन जे वाइवा र कल्याण सिंहको संगीत रहनेछ । केही राम्रो काम गरेर छाड्छु भन्ने संकल्प बोकेको एक मान्छेले कठीन परिस्थिति र अवरोधका बीच कसरी समाजलाई राम्रो बाटोमा डोर्‍याउन सक्छ भन्ने कथामा फिल्म बन्ने निर्देशक खनालले जानकारी गराएका छन् ।