नेपालले नेदरल्यान्ड्सलाई दियो १७३ रनको लक्ष्य

निरेम अपडेट
१३ फागुन २०८० १३:३३

काठमाडौँ । आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगिताको आइतबारको खेलमा नेपालले नेदरल्यान्ड्सलाई जितका लागि एक सय ७३ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९.३ ओभरमा अलआउट हुनुअघि एक सय ७२ रन बनाएको हो ।

नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ६६ रनको योगदान गरे । तल्लोक्रमका ब्याट्सम्यान करण केसीले २६ रन बनाए । आरिफ शेखले पनि टोलीको खातामा २२ रन थपे । कप्तान रोहित पौडेल १६ रन बनाउँदै आउट भए ।विकेटकिपर ब्याट्सम्यान आसिफ शेखले १७ रन बटुले । नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । कुशल भर्तेलवाहेक नेपालका माथिल्लो क्रममा कुनै पनि ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् ।

नेपालले एक सय ३५ रनको कुल स्कोरमा आठ विकेट गुमाएसकेको थियो । तर, आरिफ शेख र करण केसीले ३६ रनको साझेदारी गर्दै टोलीलाई राहत दिएका थिए । नेपालले अतिरिक्त रुपमा पनि १० रन पाएको थियो ।नेदरल्यान्ड्सका बलर भिभियन किङ्मा र आर्यन दत्तले तीन–तीन विकेट लिए । बास डे लिडले पनि दुई विकेट हात पारे । रोल्फ भान डर मेर्वेले एक विकेट लिए । नेपालका एक ब्याट्सम्यान भने रन आउट भएका थिए ।

नेपालले पहिलो विकेटका रुपमा ओपनर आसिफ शेखलाई गुमाएको थियो । उनी १७ रन बनाउँदै आउट भएका थिए । विकेटकिपर ब्याट्सम्यान आसिफ शेखले २७ बलमा एक छक्का र दुई चौका पनि हिर्काएका थिए । उनलाई नेदरल्यान्ड्सका बलर भिभियन किङ्माले बास डे लिडद्वारा क्याच गराएका थिए । ८.३ ओभरमा आसिफ शेख आउट हुँदा नेपालले ४२ रन बनाएको छ ।

नेपालले दोस्रो विकेटमा रुपमा भने अनिल शाहलाई गुमाएको थियो । तेस्रो नम्बरका क्रिज समाल्न आएका अनिल ११ बलमा एक छक्काको मद्दतले सात रन बनाउँदै आउट भएका थिए । उनलाई भिभियन किङ्माले बोल्ड गरेका थिए । ११औँ ओभरको अन्तिम बलमा अनिल आउट हुँदा नेपालले ५० रन बनाएको थियो ।

नेपालले तेस्रो विकेटमा रुपमा कुशल मल्ललाई गुमाएको थियो । चौथो नम्बरमा क्रिज समाल्न आएका कुशल मल्ल नौ बलमा दुई रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई नेदरल्यान्ड्सका बलर आर्यन दत्तले एलबीडब्लूको धरापमा पारेका थिए । १३औँ ओभरको अन्तिम बलमा कुशल मल्ल आउट हुँदा नेपालले ५४ रन बनाएको थियो ।

नेपालले चौथो विकेटका रुपमा कप्तान रोहित पौडेललाई गुमाएको थियो । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका रोहित ४० बलमा दुई चौकाको मद्दतले १६ रन बनाउँदै आउट भएका थिए । उनलाई डच बलर आर्यन दत्तले नोच कोरेसद्वारा क्याच गराएका थिए । २४.३ ओभरमा उनी आउट हुँदा नेपालले ८७ रन बनाएको थियो ।

यसैगरी नेपालले पाँचौँ विकेटका रुपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको थियो । उनी ११ बलमा एक रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनी रनआउट भएका थिए । २७.४ ओभरमा उनी आउट हुँदा नेपालले ९३ रन बनाएको थियो ।

नेपालले छैटौँ विकेटका रुपमा भीम सार्कीलाई गुमाएको थियो । आठ बलको सामना गरेका भीम खाता खोल्नुअघि नै आउट भएका थिए । बास डी लिडले बोल्ड गरेका थिए । २९.३ ओभरमा भीम आउट हुँदा नेपाली टोलीले ९४ रन बनाएको थियो ।

नेपालले सातौँ ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको थियो । कुशल भुर्तेलले पेभेलियन फर्किनुअघि ६६ रन बनाएका थिए । उनले ९३ बलको सामना गरी आठ चौका पनि हिर्काएका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशल भुर्तेलले बनाएको यो आठौँ अर्धशतक पनि हो ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उच्च स्कोर भने एक सय १५ रन हो । २७ वर्षीय कुशल भुर्तेललाई डच बलर रोल्फ भान डेर मर्वेले आफ्नो बलिङमा आफैले क्याच लिँदै पेभेलियन फर्काएका थिए । ३६.३ ओभरमा कुशल भुर्तेल आउट हुँदा नेपाली टोलीले एक सय २२ रन बनाएको थियो ।

नेपालले आठौँ विकेटका रुपमा गुलसन झालाई गुमाएको थियो । गुलसनले पेभेलियन फर्किनुअघि १७ बलमा पाँच रन बनाएका थिए । गुलसनलाई आर्यन दत्तले साइब्रान्डद्वारा क्याच गराएका थिए । आर्यन दत्तले लिएको यो तेस्रो विकेट थियो । ४२.२ ओभरमा गुलसन आउट हुँदा नेपालले एक सय ३५ रन बनाएको थियो ।

नेपालले नवौँ विकेटका रुपमा आरिफ शेखलाई गुमाएको थियो । आठौँ नम्बरमा क्रिज समाल्न आएका आरिफ २२ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनले ५० बलको सामना गरी एक चौका पनि हिर्काएका थिए । उनलाई डच बलर किङ्माले म्याक्स ओ’डडद्वारा क्याच गराएका थिए । ४८.२ ओभरमा उनी आउट हुँदा नेपालले एक सय ७१ रन बनाएको थियो ।

नेपालले अन्तिम विकेटका रुपमा करण केसीलाई गुमाएको थियो । टोली अप्ठ्यारो स्थितिमा रहँदा उनले २६ रन बनाएका थिए । उनले केवल २७ बलको सामना गरी दुई छक्का र एक चौका पनि हिर्काएका थिए । उनलाई बास डे लिडले साइब्रान्डद्वारा क्याच गराएका थिए ।

जारी शृंखलामा यसअघि नेपालले एकपटक नेदरल्यान्ड्सलाई हराइसकेको छ । जारी शृंखलामा नेपाल र नेदरल्यान्ड्स दुबैले आफ्नो चौथो तथा अन्तिम खेल खेल्न लागेका हुन् । नामिबियाले भने आफ्नो चार खेल खेलिसकेको छ ।

चारमध्ये तीन खेल जितेको नामिबिया ६ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । नामिबियाले यसअघि दुई खेलमा नेपाललाई हराएको थियो । एक खेलमा भने नामिबियाको टोली नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।

यसैगरी हालसम्म तीन खेल खेलेको नेपाली टोली एक जितबाट दुई अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा छ । नेपालले एक खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो । तीन खेल खेलेको नेदरल्यान्ड्स भने दुई अंकसहित तेस्रो स्थानमा छ । नेदरल्यान्ड्सले एक खेलमा नामिबियालाई हराएको थियो ।