वैदेशिक रोजगारमा ठगी गरेको कसूरमा रेड नोटिस जारी भएका फरार प्रतिवादी यूएईबाट पक्राउ

निरेम अपडेट
१३ वैशाख २०८१ १५:२३

काठमाडौँ । वैदेशिक रोजगारमा ठगी गरेको कसूर मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँकेको खजुरा गाउँपालिका-२ सितापुर बस्ने कमल विश्वकर्मा छन् ।

एनसीबी अबुधावी यूएईको समन्वयमा युएईमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ नेपाल फिर्ता ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

वैदेशिक रोजगार कसूर मुद्दाको अनुसन्धानको सिलसिलामा उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्न वैदेशिक रोजगार विभाग अनुसन्धान तथा मुद्दा शाखा ताहाचल काठमाडौंबाट अनुरोध भएपश्‍चात एनसीबी काठमाडौंको अनुरोधमा ईन्टरपोल महासचिवालयबाट सन् २०२४ फेब्रुअरी २ मा रेड नोटिस जारी भएको थियो ।