नेपाल भ्रमणमा आउने वेस्ट इण्डिज पुरुष ‘ए’ टिमको छनौट र घोषणा।

निरेम अपडेट
१२ वैशाख २०८१ ११:४०

वेस्ट इण्डिजले नेपाल टुरमा आउने ‘ए’ टिमको छनोट गरेको छ । वेस्ट इण्डिज क्रिकेटको छनोट समितिले अप्रिल यही २५ देखि मे १५ सम्म नेपाल भ्रमण गर्ने वेस्ट इण्डिज पुरुष ‘ए’ टिमका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

वेस्ट इण्डिजले कप्तानका रूपमा अनुभवी रोस्टन चेसको नेतृत्वमा र उप-कप्तानका रूपमा एलिक एथानाजलाई चयन गरेको छ । वेस्ट इण्डिज ‘ए’ टिमले नेपालमा पाँच टी-२० सिरिज खेल्ने कार्यक्रम छ ।

विश्वकप छनोटअघि हुन लागेको यस सिरिजलाई महत्वपूर्ण तयारी सिरिजका रूपमा हेरिएको छ ।यो कुनै पनि वेस्ट इण्डिज क्रिकेट टिमले नेपाल आउन लागेको पहिलोपटक भएकाले यसलाई ऐतिहासिक अवसरका रूपमा समेत हेरिएको छ ।

वेस्ट इण्डिज ‘ए’ टिममा रोस्टन चेस (कप्तान), एलिक एथानाज (उपकप्तान), फेबियन एलन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चाल्र्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यु फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श हुनुुहुन्छ ।

प्रशिक्षण टिममा मुख्य प्रशिक्षक, फ्लोयड रेफर, सहायक कोच- रेयन ग्रिफिथ, फिजियोथेरापिस्ट– नील ब्यारी, स्ट्रेन्थ एण्ड कन्डिसन कोच– शेन कुपर, प्रबन्धक र विश्लेषकः अवनेश सीताराम हुनुहुन्छ ।

सार्वजनिक खेल तालिकाअनुसार नेपाल र वेस्ट इण्डिज ‘ए’ बीच पहिलो खेल अप्रिल २७ मा हुनेछ भने दोस्रो खेल अप्रिल २८ मा, तेस्रो मे १ मा, चौथो मे २ मा र पाँचौँ ४ मेमा हुनेछ । टियु मैदानमा हुने यो सिरिजका सबै खेल अपराहृन १ बजेदेखि सुरु हुनेछन् ।