‘पुजार सार्की’को नयाँ पोस्टर रिलिज

निरेम अपडेट
२९ चैत २०८० १७:००

आगामी जेठ १० गतेदेखि प्रदर्शनमा आउन लागेको दिनेश राउत निर्देशित फिल्म ‘पूजार सार्की’ स्टारकास्टका कारण चर्चामा छ । पहिलोपटक नेपाली फिल्मका तीन स्टारहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह एकसाथ देखिन लागेकाले फिल्मले बक्स अफिसमा राम्रो नतिजा ल्याउन सक्ने प्रक्षेपण गरिएको छ । उनीहरुको लुक्सले पनि दर्शकमा फिल्मप्रति कौतुहलता बढाएको छ ।

यस्तैमा, शुक्रबार टिजर रिलिजको तयारीबीच फिल्मको नयाँ पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा आर्यन, प्रदीप र पलसहित मुख्य दुई अभिनेत्री अञ्जना बराइली र परीक्षा लिम्बूलाई पनि स्थान दिइएको छ । उनीहरु ग्रामीण लुक्समा चित्रित छन् । दुई चुल्ठी बाटेकी परीक्षा चुलबुले युवती लाग्छिन् भने अञ्जनाको रुप र हुलियाले जिम्मेवार युवती दर्शाउँछ । उनीहरु दुवै खुसी भावमा छन् ।

पोस्टरको अग्रभागमा भने आर्यन, प्रदीप र पल चित्रित छन् । ढाका टोपीसहित देखिएका आर्यनको लुक्सले पूजारीको संकेत गर्छ । प्रदीप भने लामो कपालसहित कालो टोपी र हाफ पाइन्ट (जाँगे) लगाएर प्रस्तुत छन् । फिल्ममा उनी दमाहा बजाउने चरित्रमा छन् । त्यस्तै, पललाई बन्दुक भिरेको अवस्थामा देख्न सकिन्छ । कलाकारहरुको लुक्सले नै फिल्म ग्रामीण परिवेशमा बनेको बुझाउँछ ।

विकास सुवेदीको लेखन रहेको फिल्ममा मोहन निरौला, प्रेम सुब्बा, तारा शर्मा, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, शङ्कर आचार्य, गोविन्द रमण पराजुली लगायतको पनि अभिनय छ । संगीतकार सुवास भुसाल फिल्मको निर्माण गरेका हुन् । उनले यही फिल्मबाट निर्माणमा हात हालेका हुन् । राजेश श्रेष्ठको छायांकन रहेको फिल्मले जातीय विभेदविरुद्धको कथालाई उठाएको छ ।