कुवेतमा आप्रवासीको लागि बायोमेट्रिक फिंगरप्रिन्ट बिना पुन: प्रवेशमा समस्या नहुने

निरेम अपडेट
२९ चैत २०८० १७:०८

कुवेतमा आप्रवासीको लागि बायोमेट्रिक फिंगरप्रिन्ट बिना पुन: प्रवेशमा समस्या नहुने भएको छ ।कुवेत सरकारले गत मार्च १ देखी जुन १ सम्म सम्पूर्ण आप्रवासीले अनिवार्य बायोमेट्रिक फिंगरप्रिन्ट गर्नु पर्ने सर्कुलर जारी गरेको थियो । कुवेतको आन्तरिक मन्त्रालयको एक सुरक्षा स्रोतले तीन महिनाको अवधिमा बायोमेट्रिक फिंगरप्रिन्ट नगरेका आप्रवासीहरूको लागि यात्रा प्रतिबन्धको सन्दर्भमा प्रसारित समाचारहरू अफवाह रहेको अरब टाइम्स कुवेतमा समाचार छ ।

स्रोतले बायोमेट्रिक नगरेका आप्रवासीको लागि कुवेतमा पुन: प्रवेश गर्न बाधा नहुने पुष्टि गरेको छ । फिंगरप्रिन्ट गर्न असफल भएका आप्रवासीहरूलाई आगामी जुनमा सकिने समयसीमा पछि कुवेत प्रवेश गर्न प्रतिबन्ध लगाइने दावीमा कुनै सत्यता नरहेको मन्त्रालयले स्पष्ट पारेको छ । तोकिएको समय सीमा सकिए पनि कुवेत नागरिक र आप्रवासीका लागि अनिवार्य बायोमेट्रिक फिंगरप्रिन्ट गर्न पर्याप्त समय दिने जनाएको छ । स्रोतले बायोमेट्रिक फिंगरप्रिन्ट नगराएका आप्रवासीहरूले कुवेत फर्केपछि बायोमेट्रिक फिंगरप्रिन्ट गर्न आवश्यक हुने उल्लेख गरेको छ ।

एयरपोर्टमा वा सपिङ सेन्टरहरू सहित कुवेतका छ वटा गभर्नरेटहरूमा अवस्थित रहेको फिंगरप्रिन्टिङ केन्द्रहरूमा बायोमेट्रिक फिंगरप्रिन्टि गर्न सकिन्छ । यसबाहेक, बायोमेट्रिक फिंगरप्रिन्टि प्रक्रिया एक पटकको आवश्यकता हो, डिजिटल रेकर्डहरू सिर्जना गर्ने जसले व्यक्तिको पहिचान प्रमाणित गर्न सुरक्षा सेवाहरूलाई मद्दत गर्दछ । यसले देशमा प्रतिबन्धित व्यक्तिहरूको प्रवेशमा रोकथाम गर्न मद्दत पुर्याउनेमा मन्त्रालयले जोड दियो ।