ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४ सै घण्टा खुला हुने

निरेम अपडेट
१ वैशाख २०८१ १५:०७

काठमाडौं, वैशाख १ : ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४ सै घण्टा खुला हुने भएको छ । सोही अनुसार जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आचारसंहिता बनाएर आजदेखि २०८१ सालको पहिलो दिन अर्थात् चन्द्र क्यालेन्डरअनुसार संघीय राजधानीका दुई प्रमुख सडक चौबीसै घण्टा सञ्चालन गर्न लागेको हो । 

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनअनुसार यो निर्णय लागू भएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले ठमेल र दरबारमार्ग क्षेत्रलाई सुरक्षित बनाउन भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको राससलाई बताए । ठमेल र दरबारमार्ग क्षेत्रमा रात्रिकालीन व्यवसायलाई पूर्णकालीन व्यवसायका रूपमा सञ्चालन गर्ने तयारी गरिएको छ ।ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन व्यापार सञ्चालनका लागि ‘आचार संहिता तथा मापदण्ड–२०८०’ स्वीकृत भएको छ । रातिको समयमा हुने यातायातको समस्यालाई सम्बोधन गर्न सिटी बस, ट्याक्सी र राइड सेयरिङ एपको व्यवस्थापन भइरहेको छ । 

यसैबीच, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल र दरबारमार्गको अर्थतन्त्रलाई दिगो बनाउन बजार २४ सै घण्टा खुला हुने बताए । दरबारमार्ग विकास बोर्डका संयोजक सञ्जय अधिकारीले चौबीसै घण्टा बजार खुला गर्दा अन्तर्राष्ट्रियस्तरमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे । उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेको उपस्थितिमा आज दिउँसो ठमेल र दरबारमार्ग २४ सै घण्टा सञ्चालन गर्ने घोषणा गर्ने कार्यक्रम हुँदैछ ।