‘महाजात्रा’को टिजर सार्वजनिक, पैसा लुकाउन खोज्दा आइपर्ने समस्याको कथा।

निरेम अपडेट
९ फागुन २०८० १४:२६

आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ‘महाजात्रा’को टिजर सार्वजनिक भएको छ । प्रदीप भट्टराई निर्देशित यो चलचित्रको मंगलबार टिजर सार्वजनिक गरिएको हो । सार्वजनिक चलचित्रको टिजरमा पैसा व्यवस्थापन गर्दा आइपर्ने समस्या सम्बन्धि कथा रहेको बुझ्न सकिन्छ ।

तीन पात्रले पैसालाई लुकाउन खोज्दा विभिन्न परिस्थितिको सामना गरेको देखिन्छ । मुख्य पात्र अटाएको टिजरमा पैसा व्यवस्थापनको चटारो देखाइएको छ । आकस्मिक रूपमा प्राप्त पैसा व्यवस्थापन सजिलै गर्न नसक्दा त्यसका लागि कमिसनको खेल सुरु भएको दृश्य टिजरमा समावेश छ ।

‘जात्रा’ र ‘जात्रै जात्रा’पछि षट्कोण आर्ट्सको निर्माणमा तेस्रो शंखृलाका रूपमा ‘महाजात्रा’ निर्माण भएको हो । जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रूपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई चलचित्रले प्रस्तुत गर्ने निर्माण पक्षले बताएको छ ।

चलचित्रको नाम ‘महाजात्रा’ भएकाले यो पटक कथा, प्रस्तुतिकरणमा निकै ध्यान दिएको निर्देशक प्रदीप भट्टराईले बताउनुभयो । ‘हामी दर्शकको अघिल्ला शृंखलाभन्दा यसपटक झनै बलियो होस् भनेर काम गरिरहेका छौं’, भट्टराईले भन्नुभयो ।

चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायतको अभिनय छ ।

चलचित्रको भारतबाहेकको विदेश प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टका लागि छत्र थापाले खरिद गर्नुभएको छ । उहाँले विदेशमा नेपालमा घोषणा गरिएको मितिमा चलचित्र प्रदर्शन हुने जानकारी गराउनुभयो ।

चलचित्रका निर्माता म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल हुनुहुन्छ । चलचित्रमा जितबहादुर रुवाली एसोसिएट निर्देशक, पुरुषोत्तम प्रधान छायांकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल संगतीतकार हुनुहुन्छ ।